birat ribon

केरुङ नाकाबाट सामान नभित्रिँदा व्यवसायी चिन्तित

Neuro
केरुङ नाकाबाट सामान नभित्रिँदा व्यवसायी चिन्तित

काठमाडौ, १० असोज । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा व्यापार व्यवसाय पनि ठप्प भयो । पछिल्लो एक महिनायता बजार खुलाइए पनि प्रयाप्त मालबस्तु नहुँदा व्यापार शून्य रहेको व्यवसायीहरुको गुनासो छ । खासगरी चीनतर्फको केरुङ नाकाबाट मालबस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको व्यवसायीहरु बताउँछन् ।

चाडपर्व नजिकिँदै छ । व्यापारको मुख्य सिजन पनि चाडपर्व नै हो । दशैंतिहार जस्ता ठूला चाडपर्वको समयमा किनमेल गर्ने प्रचलन नेपाली समाजमा छ । त्यसैले यो समयमा लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायतका बस्तुहरुको आयात पनि धेरै नै गरिएको हुन्छ ।

cura insider

तर यस वर्ष कोभिड १९ संक्रमण जोखिमका कारण चीनतर्फको केरुङ नाकाबाट कुनै पनि सामग्री भित्रिन सकेको छैन । जसको असर काठमाडौंलगायत देशका ठूला बजारमा पर्ने देखिएको छ । बजारका व्यापारीहरु पनि मालबस्तु नभएका कारण व्यापार बढाउन नसकिएको बताउँछन् ।

खासगरी लत्ताकपडा चीनतर्फबाट सबैभन्दा धेरै आयात हुन्छ । तर यस वर्ष आयात गरिएको समान पनि केरुङ नाकामै रोकिँदा पुरानै स्टक सामग्री मात्रै बिक्री गर्नुपरेको व्यवसायीहरुले बताएका छन् । बजारमा प्रयाप्त सामग्री नहुँदा बजार भाउ पनि महँगो हुने भएकाले व्यापार कम हुने चिन्तामा पनि व्यवसायीहरु छन् ।

काठमाडौंको न्यूरोड, असन, भोटेबहाललगायतका क्षेत्रमा पुग्दा व्यवसायीहरुले अहिलेको सिजन लत्ताकपडा बिक्रीका लागि मुख्य सिजन भए पनि आवश्यक सामग्री नहुँदा व्यापार कम भएको बताएका छन् । चीनतर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडो सिजनका कपडाको अभाव हुन सक्ने पनि उनीहरुले बताए । व्यापार नै कम हुने भएपछि कसरी लगानीलाई सुरक्षित गर्ने र कसरी पसलको भाडा तिर्ने भन्ने चिन्तामा पनि व्यवसायीहरु छन् ।

नेपालमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै जाँदा व्यवसायीहरुले चीनबाट केरुङ नाका हुँदै समान आयात गर्न सकेका छैनन् । केरुङ नाकामा आएका एक हजारभन्दा बढी कन्टेनर पनि रोकिएका छन् । त्यसको असर नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुले सामान छुटाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् । कन्टेनरहरु छुटाउन नसके बजारमा सामानको अभाव हुने र महँगी बढ्न गई व्यापार कम हुने चिन्तामा व्यवसायीहरु छन् ।

jackson ribon