Rumpum Advertisement

कसेनी घटना : हत्या आरोपी पाँचजना पूर्पक्षका लागि थुनामा, दुईजनालाई धरौटीमा छाड्ने आदेश

Neuro Ad
कसेनी घटना : हत्या आरोपी पाँचजना पूर्पक्षका लागि थुनामा, दुईजनालाई धरौटीमा छाड्ने आदेश

विराटनगर, ९ असोज । जिल्ला अदालत मोरङले बेलबारी नगरपालिका–५ कसेनीका चन्द्रकुमार राईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजनालाई थुनामा राख्ने आदेश दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधिस तेजबहादुर खड्काको इजलासले थुनछेक बहसपछि कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ परेका सात मध्ये पाँचजनालाई थुनामा राख्ने आदेश दिएको हो । दुई जनालाई पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएको छ ।

१२ भदौमा राईको हत्या र उनका आफन्तमाथि आक्रमण गरेकाे आरोपमा १९ जनाविरुद्ध कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । हत्या आरोपमा पक्राउ परेका मध्ये जितेन्द्रकुमार चौधरीलाई चारलाख र ञानव थुलुङ राईलाई दुईलाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

मुख्य नाइके भनिएका बिनयकुमार सरदार, बिशालकुमार खवास गच्छदार, दिपेन्द्र भन्ने दिपेन्द्रकुमार चौधरी, विरेन्द्रकुमार खाँ र राजेन्द्र राईलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

उनका अनुसार धरौटीमा छाड्ने आदेश भएका जितेन्द्र धरौटी बुझाएर छुटेका छन् । धरौटी बुझाउन नसकेका ञानव राईलाई अन्य पाँचजनासँगै कारागार चलान भएका छन् ।

गत १२ भदौमा १९ जनाको समूहले कुटपिट गर्दा बेलबारी नगरपालिका–५ कसेनी ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको थियो । विराटनगर बस्दै आएका राई लकडाउनपछि घरमा बसेका थिए । स्थानीयको झगडा छुट्याउन गएका उनलाई खुकुरी र बञ्चरो प्रहार भएको थियो ।

झगडा छुट्याउन गएका उनका दाइ ४२ वर्षीय सईकुमार राई, भाइ ३२ वर्षीय समुन्द्र राई र भतिज १६ वर्षीय गौरव राई गम्भीर घाइते भएका थिए ।

लोहन्द्रा खोला लगाएकाे बाँसकाे पुल विषयमा विवाद हुँदा दिनेश भनिने घनेन्द्र श्रेष्ठमाथि कुटपिट गरिरहेको समूहलाई सम्झाउन पुगेका राईमाथि आक्रमण भएकाे थियाे । उनकाे साेही दिन विराट मेडिकल कलेजमा मृत्यु भएको थियो ।

हत्या आरोपमा ग्रामथान गाउँपालिका–६ का जितेन्द्रकुमार चौधरी, बेलबारी नगरपालिका–६ का ३८ वर्षीय बिशालकुमार खवास (गच्छदार), ग्रामथान–६ का ३३ वर्षीय वीरेन्द्रकुमार खाँ, ग्रामथान–५ का ३१ वर्षीय दीपेन भन्ने दीपेन्द्रकुमार चौधरी, बेलबारी नगरपालिका–५ का ३२ वर्षीय राजेन्द्र राई थुलुङ, २० वर्षीय ञानव थुलुङ राई, ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान–२ का २७ वर्षीय कृष्णकुमार चौधरी, ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ग्रामथान–६ का ३५ वर्षीय अनोज भन्ने अनोदकुमार माझी, ग्रामथान– ४ का ३७ वर्षीय ओम धामी, वडा नम्बर ५ का ३४ वर्षीय दिनेश चौधरी माझी, ग्रामथान–७ का २५ वर्षीय प्रेम चौधरी, ग्रामथान–६ का ३४ वर्षीय बलराम चौधरी, सुन्दरहरैंचा–२ का २५ वर्षीय अशोक खवास, सुन्दरहरैंचा–११ का ३३ वर्षीय शम्भु भन्ने दिनेश मास्के, सुन्दरहरैंचा–२ का ३५ वर्षीय कचालु भन्ने गितार खवास, सन्दरहरैंचा– ११ का २५ वर्षीय राजिन राई, सुन्दरहरैंचा–१ का २४ वर्षीय नलिन खवासविरुद्ध कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।