Rumpum Advertisement

असोजको झरीमा जलमग्न विराटनगर, मेयर भन्छन्,‘सडक निर्माणमै त्रुटी देखियो’

Neuro Revised Adv
Koshi Dashain ad
असोजको झरीमा जलमग्न विराटनगर, मेयर भन्छन्,‘सडक निर्माणमै त्रुटी देखियो’

विराटनगर,९ असोज । आकाशे पानी निकास नहुँदा विराटनगरको दक्षिणी क्षेत्र जलमग्न बनेको छ । चारदिनयताको वर्षाका कारण विराटनगर– १३, १४, १५, १६, १७ र १८ को अधिकांश क्षेत्र जलमग्न बनेको हो ।

महानगरपालिकाले निर्माण गरेका सडकमा पानी निकासी हुने नाला सफा नहुनु र ६ लेन सडकको( कोशी राजमार्ग) उचाई अग्लो भएका कारण ती क्षेत्र डुबानमा परेका हुन । चार दिनको झरीका कारण नहुँदा दुई हजार पाँचसय बढी घर प्रभावित बनेका छन् ।

चार वर्षदेखि वर्षेनी आफूहरु बसोबास गरिरहेको क्षेत्र डुबानमा परिरहेको र समस्या सम्बन्धित निकायसँग आग्रह गर्दा चासो नदिएको स्थानीयको गुनासो छ ।

असोज लागेसँगै सुरु भएको झरीले घर र सडक डुबाएपछि विस्थापीत भएका स्थानीयले बिहीबार रानी–विराटनगर सडक खण्डमा चक्काजाम गरेका थिए । स्थानीयबासी सडकमा उत्रिएपछि स्थानीय निकायका प्रमुख प्रभावित क्षेत्रमा पुगेका थिए ।

‘चुनावमा भोट माग्न घर–घर धाउने जनप्रतिनिधिले समेत हाम्रो समस्या बुझिदिएनन्’ स्थानीय प्रभु शर्मा भन्छन्, ‘डुबानको समस्या भोग्न थालेको चार वर्ष भयो, अहिलेसम्म कुनै पनि व्यवस्था गरिएको छैन ।’

डुबानको कारण के ?

स्थानीयका अनुसार ६ लेनको सडक परियोजना र एकिकृत भन्सार जाँच चौकी (आइसीपी) को निर्माण सुरु भएसँगै सो क्षेत्रमा समस्या देखिन थालेको हो । बस्ती भन्दा माथि सडक छ । पानी निकासीका लागि ६ लेन सडक परियोजना र आइसीपीको लिङ्कको रोडमा पर्याप्त साइफन नहुँदा डुबान भएको हो ।

विराटनगर– १५ का स्थानीय प्रभु शाहका अनुसार कोशी राजमार्गमा पहिले पानी निकासीका लागि दश वटा साइफन थियो । तर सडक परियोजनाले चार वटामात्र साइफन बनाएका कारण समस्या भएको उनले बताए ।

‘पश्चिमी क्षेत्रबाट निकासी हुनुपर्ने पानी भित्री सडकको नालाको उचाई अग्लो भएको कारण नालाहुँदै बग्न पाउदैन’ उनी भन्छन् ‘जमेको पानी बग्नलाई ६ लेन सडकमा साइफन नभएका कारण डुबानको समस्या देखिएको हो ।’

डुबान क्षेत्रमा पुगेका विराटनगरका मेयर भीम पराजुली पनि यस विषयमा सहमत छन् । महानगर क्षेत्रभित्रका नाला सफा नहुनुसँगै ६ लेन सडक खण्डमा भएको प्राविधिक त्रुटीका कारण महानगरका विभिन्न वडा डुबानमा परेको उनले बताए ।

‘जनप्रतिनिधि निर्वाचित भएर आउनु भन्दा अघि देखिको नै समस्या हो यो तर पनि हाम्रोतर्फबाट हामीले गर्न सक्ने गरिरहेका छौं’ मेयर पराजुलीले भने,‘प्राविधिक त्रुटी भएका कारण र हाम्रो मातहतमा यो सडक नपर्ने भएकाले सम्बन्धित निकायमा पहल गरिरहेका छौं ।’ पहिले नाैं वटा साइफन भएकाे सडकलाई ६ लेनमा अध्यनन नगरि थाेरै मात्र साइफन राखिएकाे उनले बताए ।

उनले शुक्रबार ६ लेन सडक परियोजनाका प्रतिनिधीलाई बोलाएर दुईवटा साईफन थप गर्न आग्रह गरिएको बताए ।

मेयर पराजुलीका अनुसार एकिकृत भन्सार जाँच चौंकी (आइसीपी)का कारण पनि दक्षिणी क्षेत्र डुबानमा परेको हो । अग्लो सडक निर्माण गरिएको आइसीपीमा पर्याप्त निकास नाला छैन् ।

६ लेन सडक निर्माणका लागि छुट्टै परियोजना सञ्चालनमा छ । समस्या समाधानका लागि परियोजनासँग बजेट नभए महानगर सहयोग गर्न तयार रहेको बताउँदै मेयर पराजुलीले भने ‘बजेट अभाव हो भने पनि हामी सहयोग गर्न तयार छौं, तर सधैं आलटाल गरेर महानगरका बासिन्दाहरुलाई डुबानको समस्या भोग्न हामी दिँदैनौं ।’

समाधान कसरी गर्ने ?

विराटनगर– १५ का अध्यक्ष असलम आलमका अनुसार १३, १५ र १६ का मात्रै दुई हजार पाँचसय बढी परिवार डुबानका कारण प्रभावित बनेका छन् ।

वर्षेनी आउने बाढी र डुबानको स्थायी समाधानका लागि महानगर, प्रदेश र संघीय सरकारसामु कुरा राखिसकेको भएपनि सामधान नभएको उनको गुनासो छ ।

डुबानका कारण प्रत्यक्ष मारमा परिरहेका सर्वसाधारणको समस्या समाधान गर्न ६ परियोजनासँगको सहकार्यमा परियोजनाको दुई ठाउँमा साइफन थप गर्ने सहमती भइसकेको आलमले बताए ।

‘अति बढि प्रभावित वडा नं १५ र १६ को बीचमा पर्ने ६ लेनको सडकखण्डमा दुई ठाउँ थप साइफन राख्ने सहमती भएको छ’ उनले भने ‘ भोलिबाट नै त्यसको लागि काम सुरु हुँदैछ ।’