Rumpum Advertisement

दिल्ली भर्सेस चेन्नई : ‘प्लेयर्स टू वाच’

Neuro Revised Adv
Koshi Dashain ad
दिल्ली भर्सेस चेन्नई : ‘प्लेयर्स टू वाच’

विराटनगर, ९ असोज । तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धामा छन । नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुने सो खेलमा चेन्नई र दिल्ली भिड्न लागेका हुन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साविकको उपविजेता चेन्नईले तेस्रो खेल खेल्दैछ भने दिल्लीले दोस्रो खेल खेल्दैछ । तर, यस खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् ।

यसअघि पहिलो खेलमा साविकको विजेता मुम्बई इडिन्यन्समाथि ५ विकेटको जित निकालेको चेन्नई दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।

यता, दिल्लीले भने आफ्नो पहिलो खेलमा किंग्स एलेभेन पञ्जाबमाथि सुपरओभरमा जित दर्ता गराएको थियो ।

अंक तालिकामा चेन्नई दुई अंकसहित पाँचौं स्थानमा छ भने दिल्ली समान अंकसहित चौथो स्थानमा छ ।

निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको आजको खेलमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दुवै टोलीका खेलाडीहरुलाई आज हामीले ‘प्लेयर्स टू वाच’ मा प्रस्तुत गरेका छौंः

श्रेयस अय्यर, दिल्ली क्यापिटल्स्, कप्तान, ब्याट्सम्यान

दाँयाहाते स्टाइलिस ब्याट्सम्यान अय्यरले दोस्रो पटक दिल्लीलाई कप्तानी गरिरहेका छन् । पहिलो कप्तानीमा नै सेमिफाइनलसम्म पुर्‍याउन सफल अय्यर दिल्लीका महत्वपूर्ण खेलाडी हुन् ।

सुरुआती तीन विकेट गुमेपछि ब्याटिङका लागि आएका उनले तीन छक्काको मद्दतमा ३९ रन बनाउँदै दिल्लीलाई अघि बढाएका थिए । क्लीन स्ट्राइकरका रूपमा परिचय बनाएका अय्यर आफ्नो टोलीलाई जिताउन जुनसुकै अवस्थामा पनि ठूला रन बनाउने सामर्थय राख्ने खेलाडी हुन् ।

मार्कस स्टोइनिस, दिल्ली क्यापिटल्स्, अलराउण्डर

पहिलो खेलमा पञ्जाबविरुद्ध २१ बलमा अर्धशतकीय पारी खेलेका स्टोइनिसले दिल्लीलाई जिततर्फ डोहोर्‍याउन दुई विकेटसमेत लिएका थिए । तीन छक्का र सात चौका प्रहार गरेका स्टोइनिसको स्ट्राइक रेट २५२.३८ रहेको थियो । लिमिटेड–ओभर बलिङ स्पेशियालिस्टका रूपमा परिचित स्टोइनिसले दिल्लीको खेल सुपर ओभरमा धकेल्न अन्तिम ओभरमा मायंक अग्रवाल र क्रिस जोर्डनको विकेट लिन सफल भएका थिए ।

चेन्नईविरुद्ध आजको खेलमा पनि दिल्ली स्टोइनिसबाट सोही प्रदर्शनको अपेक्षामा रहनेछ र उनी पनि सोही प्रदर्शन दोहोर्‍याउने लक्ष्यसहित मैदान उत्रनेछन् ।

कागिसो राबडा, दिल्ली क्यापिटल्स्, बलर

चार ओभरमा दुई विकेट र सुपर ओभरमा दुई विकेट लिँदै दिल्लीको जित पक्का गर्ने हुन् राबडा । दाँया हाते तीव्र गतिका बलर राबडाले अघिल्लो संस्करणमा दिल्लीलाई सेमिफाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

१२ खेल खेलेका उनले २५ विकेट लिएका थिए । राबडाको फर्म हेर्दा उनले अघिल्लो संस्करणको आफ्नो फर्म दोहोर्‍याउन सुरु गरिसकेको जस्तै देखिन्छ । यदि उनले पञ्जाबविरुद्धको फर्म आजको खेलमा पनि प्रस्तुत गर्ने हो भने चेन्नईको लागि स्थिति सहज हुने देखिँदैन ।

इमरान ताहिर, लेग स्पीनर, चेन्नई सुपर किंग्स

३७ वर्षीय दाँयाहाते लेग स्पीनर ताहिरले अघिल्लो संस्करणको आईपीएलमा २६ विकेट लिँदै ‘पर्पल क्याप’ जितेका थिए । चेन्नईले तेस्रो खेल खेल्दासमेत प्लेइङ एलेभेनमा नपरेका उनीसँग अनुभवको भने कुनै कमी छैन ।

खेललाई आफ्नो पक्षमा पार्न जस्तोसुकै दबाबमा पनि सहज रूपमा खेल्नसक्ने ताहिर आजको खेलमा खेल्ने हो भने दिल्लीको टाउको दुखाइको विषय बन्न सक्छन् जसको प्रत्यक्ष फाइदा चेन्नईले लिन सक्नेछ ।

शेन वाटसन, अलराउण्डर, चेन्नई सुपर किंग्स

आईपीएलमा एक सय खेल खेलिसकेका वाटसन भित्र्याउन दिल्ली र बैंग्लोरले धेरै मिहिनेत गरे पनि अन्तत उनी चेन्नई आए । मध्यक्रममा आक्रमक ब्याटिङ गर्नसक्ने वाटसनले धोनी नेतृत्वको टोलीको मध्यक्रममा सम्हाल्ने पक्का छ । तर दुई खेलमा सोचेअनुरुप उनले प्रदर्शन गर्न सकिरहेका छैनन् ।

पहिलो खेलमा मुम्बईविरुद्ध एक चौका मात्र जोडेर पेभिलियन फर्किएका वाटसनले कोलकताविरुद्ध भने चार छक्का र एक चौकासहित ३३ रन बनाएका थिए । ‘म्याच विनिङ’ खेलाडीको छवि बनाएका वाटसन आजको खेलमा आफ्नो फर्ममा देखिने हो भने चेन्नईको जितको लागि धेरै सहज हुनेछ ।

शार्दुल ठाकुर, बलर, चेन्नई सुपर किंग्स

हुनत ठाकुरले चेन्नईका अघिल्ला दुई खेलमा सहभागिता जनाएका छैनन् तर तीव्र गतिमा बलिङ गर्न सक्ने यिनले आजको खेलमा मौका पाए आफ्नो क्षमता प्रदर्शन गर्न सक्नेछन् भन्नेमा शंका छैन । यदि आजको खेलमा उनले खेल्ने हो भने दिल्लीका युवा खेलाडी श्रेयस र पृथ्वीसामु कस्तो प्रदर्शन गर्छन् त्यो हेर्न लायक रहनेछ ।

अघिल्लो संस्करणको आईपीएलमा आफूले खेलेका १० खेलमा आठ विकेट लिन सफल भएका ठाकुरको त्यसअघिका आईपीएलको प्रदर्शन पनि उत्कृष्ट छ । ११औं संस्करणमा १३ खेलमा १६ विकेट लिएका ठाकुरले १०औं संस्करणमा १७ खेल खेल्दै ११ विकेट लिन सफल भएका थिए ।