Rumpum Advertisement

छाक टार्न माछा बटुलेर फर्किँदा…

Neuro Revised Adv
Koshi Dashain ad
छाक टार्न माछा बटुलेर फर्किँदा…

झापा, ९ असाेज । माछा बटुलेर परिवारको छाक टार्नुपर्ने बाध्यता नै झापाको बिर्तामोड नगरपालिका–७ गरामनीका राजु र हपनमाई मर्डीका लागि नाबालक छोरो गुमाउनु पर्ने पीडादायी कारण बनेको छ ।

दुई वर्षीय छोरो जीवन मर्डीलाई ओछ्यानमा सुताएर मर्डी दम्पत्ति बुधबार राति ८ बजेतिर घरदेखि आधा किलोमिटर टाढा खोल्सीमा माछा खोज्न गएका थिए । पत्तै नपाउने गरी बाबुआमालाई पछ्याउँदै आएको नाबालक छोरोलाई घरकै छेउमा रहेको रेखा खोलाले बगायो । नाबालकको शव बिहीबार बिहान घरभन्दा ३०० मिटर दक्षिण खोलामा झारपातसँगै तैरिरहेको भेटिएको थियो ।

“भोलिका लागि चामल किन्ने पैसा थिएन,”, मृतकका बाबु राजुले भने, “राति जाल बोकेर खोल्सीमा माछा खोज्न गयौँ, फर्किँदा ओछ्यानमा छोरो थिएन ।” उनले माछा खोज्न जानु नपरेको भए छोरो बाँच्ने थियो कि भन्ने लागिरहेको बताए ।

झापा र मोरङमा बसोबास गर्दै आएका सन्थाल समुदायका अधिकांश मानिस आर्थिकरूपमा विपन्न छन् । शिक्षाको अवसरबाट वञ्चित उनीहरुमध्ये अधिकांश खेतीपाती र चिया बगानमा कामदार छन् । थोरैसँग मात्र खेतीपाती र बसोबास गर्ने आफ्नै जग्गा छ ।

मर्डी दम्पत्तिको पनि आफ्नो भन्ने जग्गा छैन । एउटा निजी चिया बगानमा उनीहरू ज्यालादारी गर्थे । खोलाको कुनोमा बगानले दिएको एक टुक्रा जमिनमा उनीहरूले ढोका र झ्याल केही नभएको छाप्रो हालेका थिए ।

कोरोना कहरका कारण बाहिर रोजगारी पाउने अवस्था थिएन । बगानमा पनि काम नभएको अवस्थामा सात जना छोराछोरी र वृद्ध बाबुको भरणपोषण गर्न निकै मुस्किल थियो । यही कारण मर्डी दम्पत्ति अचेल दिउँसो र राति दुई पटक माछा मार्न खोलाखोल्सी धाउँथे । उनीहरू दिउँसोको माछा बेचेर बेलुकाको र रातिको माछा बेचेर बिहानको छाक टार्थे ।

बुधबार राति उनीहरूले भोलिका लागि दालचामल किन्ने पैसाको जोहो गर्नै पर्ने विवशताले नाबालक छोरालाई ओछ्यानमा छाडेर माछा मार्न जानुपरेको थियो । मर्डी दम्पतीको छाप्रोमा चुल्हो बाल्नका लागि घरमा एक गेडो अन्न पनि छैन ।

छिमेकी र समुदायका मानिसले संकलन गरेको रकमले शव परीक्षण गराउन जाँदाको खर्च बेहोरिएको छिमेकी बताउँछन् । उनीहरूको जेठो छोरो १७ वर्षको छ भने अरु सन्तान क्रमशः सानो उमेरका छन् ।

हुर्किएका तीन छोराछोरी मालिकको घरमा हली गोठाला गर्दै पालिएका छन् भने घरमा ससाना नानीहरू विचल्ली अवस्थामा छन् । अहिले खाए भरेको छाक के गरी टार्ने भन्ने समस्याबाट पिरोलिएका राजुले छोराछोरीलाई पढाउने क्षमता नभएको बताए ।

“कोरोना बढेकाले काम पाइँदैन, अब कसरी बाँच्ने होला”, मिस्त्रीको सीप भए पनि काम नपाइएको बताउँदै उनले चिन्ता व्यक्त गरे ।रासस