Rumpum Advertisement

ललितको उपचारमा सरकारले सहयोग गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
ललितको उपचारमा सरकारले सहयोग गर्ने

काठमाडाैं, ८ असाेज । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताएका छन् ।

मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे बिहीबार त्यहाँ पुगेर जानकारी लिँदै यस्तो बताएका हुन् ।

उनको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने उनले जानकारी दिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ ।

भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो । उनी गत साता कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

भण्डारीलाई कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उनको दायाँ खुट्टा र हात भाँचिएको थियो । भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् ।