Rumpum Advertisement

किंग्स एलेभेन पञ्जाब भर्सेज रोयल च्यालेन्जर्स बैंग्लोर : प्लेयर्स टू वाच

Neuro Revised Adv
Koshi Dashain ad
किंग्स एलेभेन पञ्जाब भर्सेज रोयल च्यालेन्जर्स बैंग्लोर : प्लेयर्स टू वाच

विराटनगर, ८ असोज । प्रिमियर लिग २०२० अन्तर्गत आज छैठौं खेलमा किंग्स एलेभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुका ७ः४५ मा सुरु हुने खेलमा पञ्जाब पहिलो जितको खोजीमा हुनेछ भने बैंग्लोर आफ्नो विजयी यात्रा कायम गर्न चाहन्छ ।

प्रतियोगितामा दुवै टोलीले आ–आफ्नो पहिलो खेल खेलिसकेका छन् । पञ्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो भने बैंग्लोरले सन राइजर्स हैदरबादलाई दस रनले पराजित गरेको थियो ।

केएल राहुलको नेतृत्त्व र अनिल कुम्लेको प्रशिक्षणमा रहेको पञ्जाब पहिलो जितको खोजीमा रहँदा विराट कोहलीले नेतृत्त्व र सिमोन काटिचको प्रशिक्षणमा रहेको बैंग्लोर भने लगातार दोस्रो जित दर्ता गर्ने दाउमा रहनेछ ।

आईपीएल ईतिहासमा २४ पटक आमनेसामने भएका यी दुई टोलीले समान १२ पटक खेल आ–आफ्नो पक्षमा पारेकाले पनि आजको खेल रोमाञ्चक हुनेछ । निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको आजको खेलका लागि हामीले छनौट गरेका ‘प्लेयर्स टू वाच’ यस प्रकार छन्ः

मायंक अग्रवाल, ब्याट्सम्यान, किंग्स एलेभेन पञ्जाब

आईपीएल २०२० को पहिलो खेलमा ८९ रन बनाएका अग्रवालले पञ्जाबलाई विजय पथमा डोहोर्‍याए पनि सफल हुन सकेनन् । दाँया हाते ब्याट्सम्यान अग्रवालले सावधानीपूर्वक आक्रमक तरिकाले दिल्लीका बलरसामु खेलेका थिए ।

६० बलमा सात चौका र चार छक्काको मद्दतमा उनले पञ्जाबको तर्फबाट सबैभन्दा गतिलो ब्याटिङ गरेका थिए । यदि आजको खेलमा उनलाई पञ्जाबका अन्य ब्याट्सम्यानले गतिलो साथ दिने हो भने विपक्षीविरुद्ध विशाल योगफल बनाउन वा पाएको लक्ष्य भेट्टाउन पञ्जाबलाई कसैले रोक्न सक्दैन ।

मोहम्मद शामी, बलर, किंग्स एलेभेन पञ्जाब

दायाँ हाते मध्यम गतिका बलर शामी पञ्जाबको मुख्य हतियार हुन् र यो उनले दिल्लीविरुद्धको खेलमा नै प्रमाणित गरेर देखाइसकेका छन् । पहिलो खेलमा दिल्लीविरुद्ध चार ओभर बलिङ गरेका शामीले १५ रन खर्चेर तीन विकेट लिएका थिए ।

आजको खेलमा पनि उनले आफ्नो जादु देखाउने अपेक्षा गरिएको छ । तीव्र गतिमा बललाई स्वीङ गर्न सक्ने क्षमता भएका शामीका अघि बैंग्लोरका माथिल्लो, मध्य र तल्लो क्रममा ब्याट्सम्यानले कस्तो प्रदर्शन गर्ने हो त्यसको जवाफ आज हुने खेलले पक्कै बताउनेछ ।

रवि विशोनी, लेग स्पीनर, किंग्स एलेभेन पञ्जाब

टी–२० फम्र्याटमा लेग स्पीनर मुख्य आकर्षण हुन् र आईपीएलको यहीँ आकर्षणमध्येका एक हुन् विशोनी । भारतीय रकम दुई करोडमा पञ्जाबमा आबद्ध भएका विशोनी यू–१९ विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन् ।

विश्वकपका ६ खेलमा १७ विकेट लिएका विशोनीले आईपीएलको डेब्यू खेलमा नै रिसभ पन्तको विकेट लिन सफल भएका थिए । विराट, एबी डी भिलियर्स, आरोन फिन्चजस्ता खेलाडीको अघि पनि विशोनीले दिल्लीजस्तै प्रदर्शन गर्ने हो भने युवा लेग स्पीनरको आईपीएल यात्रा लामो समयसम्म रहने निश्चित छ ।

नवदीप सैनी, बलर, रोयल च्यालेन्जर्स बैंग्लोर

सैनी भारतका उदयीमान तीव्र गतिका बलर हुन् । हैदरबादविरुद्ध पूरै चार ओभर बलिङ गरेका सैनीले २५ रन दिँदै दुई विकेट लिएका थिए । १४० किलोमिटरको रफ्तारमा बलिङ गर्नसक्ने सैनी जुनसुकै अवस्थामा पनि खेल आफ्नो टोलीको पक्षमा पार्न सक्ने सामर्थ्य राख्छन् ।

दोस्रो जितको लक्ष्यसहित मैदान उत्रँदै गरेको बैंग्लोरका लागि सैनीको आजको भूमिका महत्त्वपूर्ण रहनेछ । अघिल्लो सिजन बैंग्लोरका लागि १३ खेल खेलेका सैनीले दुई रनसहित १३ विकेटको योगदान गरेका थिए ।

देवदत्त पाडीक्कल, ब्याट्सम्यान, रोयल च्यालेन्जर्स बैंग्लोर

२० वर्षीय बायाँ हाते ब्याट्म्यान पाडीक्कल आजको खेलमा पञ्जाबका लागि टाउको दुखाईको विषय बन्न सक्छन् । हैदरबादविरुद्धको पहिलो खेलमा आठ चौकासहित ५६ रनको अर्धशतकीय पारि खेलेका पाडीक्कल भारतको यू–१९ टोली र रञ्जी ट्रफीका उत्कृष्ट ब्याट्म्यानमध्येका एक हुन् ।

माथिल्लो अर्डरमा खेल्न रुचाउने पाडीक्कल आईपीएलको आफ्नो दोस्रो खेलमा कर्नाटकका सहकर्मी केएल राहुल नेतृत्त्वको टोलीसँग खेल्दैछन् ।

युजवेन्द्र चाहल, लेग स्पीनर, रोयल च्यालेन्जर्स बैंग्लोर

चार ओभरमा १८ रन खर्चेर हैदरवादको तीन विकेट लिदै बैग्लोरलाई जिततर्फ डोहोर्‍याएका चाहल दायाँ हाते लेग स्पीनर हुन् । क्रिजमा जमेर ६१ रनसहित खेलिरहेका जोनी बेयरस्टोलाई आउट गरेर खेलमा ‘टर्निङ प्वाइन्ट’ ल्याएका चाहल आजको खेलमा पनि त्यहीँ प्रदर्शन दोहोर्‍याउने दाउमा रहनेछन् । तर केएल राहुल, मायंक अग्रवाल, निकोलस पुरनजस्ता ब्याट्सम्यान सम्मेलित पञ्जाबका सामु उनी कति सफल रहन्छन् त्यो त हेर्न बाँकी नै छ ।