Rumpum Advertisement

तरकारीको मूल्यमा मनपरी : सुपरमार्केटमा भन्दा गुद्रीमा तरकारी सस्तो !

Neuro Ad
तरकारीको मूल्यमा मनपरी : सुपरमार्केटमा भन्दा गुद्रीमा तरकारी सस्तो !

मोहन ढकाल

विराटनगर, ८ असोज । बिक्रेताले मनोमानी गर्दा बजारमा तरकारीको मूल्य मनपरी रहेको पाइएको छ । विराटनगरको मुख्य तरकारी बिक्री केन्द्र गुद्री बजारमा तरकारीको मूल्यसूची छैन । मूल्यसूची भएका ठूला मार्केटमा तरकारीको मूल्य महँगो पाइएको छ ।

तरकारीको थोक तथा मुख्य बिक्री केन्द्रमा नै मूल्यसूची नराख्दा उपभोक्ता ठगिने गरेका छन् । तरकारी किन्न गुद्री बजार पुगेका विराटनगर महानगरपालिका–४ का राज दाहालले एउटै तरकारीको मूल्य पसलअनुसार फरक–फरक रहेको बताए । मूल्यसूची नराख्दा उपभोक्तालाई समस्या भएको उनले बताए ।

गुद्री बजारमा मात्रै हैन विराटनगरको भाटभटेनी सुपर मार्केट र सेन्ट्रल बजारमासमेत मूल्यमा एकरुपता छैन । एउटै तरकारी गुद्री बजार, भाटभटेनी सुपर मार्केट र सेन्ट्रल बजारमा फरक-फरक मूल्यमा बिक्री भइरहेको छ ।

विराटनगरको गुद्री बजारमा प्याज प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्म पर्छ । सोही प्याज सेन्ट्रल बजारमा ९८ रुपैयाँ छ । भाटभटेनीले ९९ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री गरिरहेको छ ।

गुद्री बजारमा रातो नयाँ आलुको मूल्य प्रतिकिलो १ सय, पुरानो रातो आलु ६० रुपैयाँ छ । सेन्ट्रल बजारमा नयाँ रातो आलुको मूल्य प्रतिकिलो ७० रुपैयाँ पुरानो आलुको मूल्य पनि ७० नै तोकिएको छ ।

भाटभटेनीमा नयाँ रातो आलुको ९० र पुरानो आलुको ५९ रुपैँया प्रतिकिलो मूल्य तोकिएको छ । भाटभटेनीमा ९० रूपैयाँ प्रतिकिलोमा पाइने टमाटर गुद्री बजार र सेन्ट्रल बजारमा प्रतिकिलो एक सय रूपैयाँमा बिक्री भइरहेको छ ।

करेला, भिण्डी, बैगुन, परवल, खोर्सानी, अदुवा, बोडीलगायतका अन्य तरकारीमा पनि मूल्यमा एकरुपता छैन ।

गुद्रीमा प्रतिकिलो १ सय २० पर्ने बोडी भाटभटेनीमा १ सय २५ र सेन्ट्रल बजारमा १ सय ३२ रुपैयाँमा बिक्री भइरहेको छ । गुद्री बजारमा पर्वल १ सय २० रुपैयाँ, सेन्ट्रल बजारमा १ सय ५ र भाटभटेनीमा ९५ रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।

सेन्ट्रल बजारमा करेला प्रतिकिलो १ सय २५ रुपैयाँ बिक्री भइरहेको छ भने गुद्री बजारमा १ सय २० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।

सेन्ट्रल बजारमा गाँजर प्रतिकिलो १ सय ४० र डल्ले खुर्सानी ६ सयमा बिक्री भइरहेको छ । गुद्रीमा गाँजर १ सय २० र डल्ले खुर्सानी प्रतिकेजी ४ सयमा बिक्री भइरहेको छ ।

कानुन कार्यन्वयनमा ध्यान गएन

बिक्रेताले मूल्यसूची कायम नगरेको पाइए उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कानुनबमोजिम ५० हजारदेखि १ लाखसम्मको जरिवाना गरिने व्यवस्था छ । कालोबजारी ऐन २०७५ अनुसार कुनै पनि बिक्रेताले सीमित उत्पादनमा २० प्रतिशतभन्दा बढी नाफा कमाउने गरी कुनै पनि वस्तु तथा सेवा बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको छ । तर बजार अनुगमन नहुँदा उपभोक्ता ठगिने क्रम बढ्दो छ ।