Rumpum Advertisement

वातावरणमैत्री साइकल

Neuro Ad
वातावरणमैत्री साइकल

रविन बिष्ट

साइकल चढ्नु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक छ । साइक्लिङलाई स्विमिङपछिको दोस्रो व्यायामको माध्यमको रुपमा लिइन्छ ।

हाम्रो देश प्राकृतिक सुन्दरताको र वातावरणीय विविधताको हिसाबले विश्वमै परिचित छ । प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण हाम्रो देशमा यदि प्रकृति र वातावरणलाई सधैं स्वच्छ, सफा राख्ने हो भने साइकल चढ्ने संस्कारको विकास गर्नुपर्ने देखिन्छ ।

अहिले हाम्रो देशमा अर्बौ खर्बौको पेट्रोलियम पदार्थ र त्यसबाट चल्ने सवारीका साधनहरु आयात भइरहेको पाइन्छ । जसका कारण हाम्रा साना शहर र साघुँरा बाटोहरुसँगै देशका मुख्य–मुख्य शहरहरुमा ट्राफिक जाम हुने गरी यी साधनहरु चलिरहेका छन् । परिणामतः पाँच किलोमिटर यात्रा गर्न घण्टौं समय लाग्ने त छँदैछ, यसले हाम्रो वातावरण नराम्ररी प्रदूषित बनाउँदै पनि गइरहेको छ ।

वातावरण प्रदूषणले गर्दा वर्तमान समयमा विभिन्न महामारीहरु भोग्न हामी बाध्य भइरहेका छौं र भविष्यमा अझै योभन्दा पनि भयावह अवस्था आउन सक्ने आँकलन सहजै गर्न सकिन्छ । खुल्लारुपमा हावामा स्वास फेर्न मुस्किल हुने अवस्था आइरहेको छ । यदि यसबारेमा गम्भीर भएर नसोच्ने हो भने हामीले र हाम्रा भावी पुस्ताले अत्यन्तै भयानक मुस्किलको सामना गर्नुपर्ने छ ।

हो, यदि यस्ता समस्याहरुलाई न्यूनीकरण गर्दै हामी जान चाहान्छौं भने सकेसम्म सवारीका साधनका रुपमा साइकल चढ्नु उत्कृष्ट विकल्प हुन सक्छ । हाम्रो देशको भौगोलिक अवस्था, धरातल पनि साइकलका लागि उपयुक्त छ । साइकलबाटै एक ठाउँबाट अर्को ठाउँमा सजिलै यात्रा गर्न सकिन्छ ।

हाल नेपालको तराईका शहररुमा व्यावसायिक एवम् गुजाराको साधनको रुपमा साइकलको प्रयोग व्यापक भएको पाइन्छ भने पहाडी भेगमा सौखको रुपमा साइकलको प्रयोग भएको पाइन्छ । यो समयमा युवाहरु तथा बालबालिकाहरु साइकल सवारीप्रति मोह राख्न थालेका छन् ।

अहिले युवा पिँडीहरु बिस्तारै साइकल सवारीप्रति आकर्षित भइरहेको पाइन्छ । बिहान बेलुका फुर्सदको समयमा वा बिदाका दिनहरुमा समूह–समूहमा वा एक्लै साइकल चढेर विभिन्न ठाउँमा घुमिरहेका प्रशस्तै देख्न पाइन्छ । यसबाट हामीले के अनुमान गर्न सक्छौं भने अहिलेलाई साइकल चढ्नु सौखको रुपमा भए पनि भविष्यमा साइकल सौखबाट माथि उठेर विभिन्न प्रयोजनका लागि राष्ट्रव्यापीरुपमा उपयोग गरिनेछ वा हुनेछ भन्ने आँकलन गर्न सकिन्छ । प्रथमतः साइकल चढ्ने बानीको नै विकास हुन जरुरी छ ।

जनताको स्तरबाट साइकल सवारीको मोह बढिरहेको भएता पनि वर्तमान समयमा हाम्रो देशमा सरकारी संयन्त्र र सरकार चलाउने पदाधिकारीहरु यसप्रति बेखबरजस्तै छन् । यस्ता कुराहरुप्रति चासो चिन्ता केही पनि पाइँदैन । जिम्मेवार नै भएको पाइँदैन । त्यसैले त साइकल र साइकलका जायज मुद्दाहरुमा उनीहरु संवेदनशील छैनन् । यसका लागि पूर्वाधारहरुको विकास गर्नुपर्छ भन्नेसम्म सोच राख्दैनन् ।

हो, समस्या यहीँ छ । यसका लागि हामी साइकल अभियान्ताहरुले एकजुट भई सरकार र स्थानीय निकायहरुलाई यस कुरामा चासो राख्न यसको पूर्वाधार विकासको कामलाई राष्ट्रव्यापीरुपमा अगाडि बढाउन र हाम्रा सम्पूर्ण शहरहरुलाई क्रमशः साइकलमैत्री बनाउनका लागि घचघच्याउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । अनि मात्र साइकलको उपयोग र त्यसको उपयोगिता बढ्न सक्छ ।यसको पूर्वाधार, विकास गर्न त्यति जतिल पनि छैन मात्र इच्छाशक्ति र योजना चाहिन्छ । शहरी क्षेत्रमा साइकलका लागि खास गरी दुईवटा पूर्वाधारको प्रमुखरुपमा विकास गर्न आवश्यक छ ।

पहिलो साइकल लेन अर्थात् साइकल चलाउनका लागि निदृष्ट व्यवस्थित एवम् सुरक्षित सडक हुन जरुरी हुन्छ । अन्य सवारीसाधनहरु चल्ने बाटोमा नै साइकलयात्रीहरुले साइकल चलाउनु पर्ने बाध्यता छ । यसले गर्दा अन्य सवारीसाधनहरुले दुर्घटना गराउन सक्ने सम्भावना व्यापक हुन्छ । साइकल सवार व्यक्तिहरु असुरक्षित भइरहेका छन् । त्यसैले साइकल लेन अत्यावश्यक पहिलो पूर्वाधार हो ।

दोस्रो साइकल स्टयान्ड अर्थात् साइकलहरुलाई व्यवस्थित एवम् सुरक्षितरुपमा पार्क गर्न मिल्ने स्थानहरु बनाउन आवश्यक छ । यसले गर्दा अव्यवस्थितरुपमा साइकल पार्क गर्नुपर्ने बाध्यता रहँदैन भने साइकल चोरी हुने सम्भावना पनि हुँदैन । हाललाई यी दुई पूर्वाधारहरु मात्र व्यवस्थित हुन सक्यो भने साइकल चढ्ने संस्कारको विकास आफैं बढ्नेछ र साइकल सोखका लागि मात्र नभएर विभिन्न व्यावसायिक तथा अन्य प्रयोजनमा प्रयोग गर्ने प्रचलन बढ्नेछ ।

हाम्रा शहरहरु वा गाउँहरु कति नै ठूला छन् ! एक ठाउँबाट अर्को ठाउँमा जान मोटरसाइकल वा गाडी नै चढ्न पर्छ भन्ने छैन, साइकलबाटै सजिलो, छिटै निदृष्ट स्थानमा पुग्न सक्छौँ । यतिमात्र होइन यसको प्रयोगमा व्यापकता आउनेबित्तिकै विदेशबाट ठूलो परिमाणमा धेरै पैसा खर्च गरेर पेट्रोलियम पदार्थ र अनावश्यक सवारीका साधनहरु आयात गर्न आवश्यकता नै हुँदैन ।

सोचौं त यदि यस्तो भएमा देशको नगद अनावश्यक बाहिर पनि नजाने, वातावरण पनि स्वच्छ हुने र मानिसहरु पनि स्वस्थ हुने यी निकै नै महत्वपूर्ण फाइदाहरु हुन्छ । अर्कोतर्फ हाम्रो देशमा साइकल पर्यटन प्रबद्र्धन गर्न सकिन्छ । स्वदेशी वा विदेशी पर्यटकहरुलाई साइकल चढाएर देशभरका विभिन्न प्राकृतिक मनोरम दृश्य, ठाउँहरु, हाम्रा मठमन्दिरहरु, मौलिक कला, सांस्कृतिक पुराना पुरातात्विक शहरहरुको अवलोकन गराउन सकिन्छ भने नेपालको पहाडी र हिमाली क्षेत्रमा साइकल ट्रेलहरु व्यापक मात्रमा निर्माण गरी विश्वभरका साहसिक साइकल चालकहरुलाई आकर्षित गरी प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।

यदि यो क्षेत्रमा प्राथमिकता दिएर केही प्रमुख एवम् अत्यावश्यक योजनाहरु बनाएर कार्यान्वयन गर्न सके विश्वभरबाट थप साइकल पर्यटकहरु भित्र्याउन सकिन्छ । यसबाट नेपालीहरुको आर्थिक अवस्था तथा देशकै आर्थिक अवस्थामा सकरात्मक प्रभाव पार्दछ । साथसाथै यो देशलाई संसारभर इज्जतका साथ चिनाउन मद्दत गर्दछ । यो देशको माटो भूगोलअनुसारको दिगो विकासको बाटोमा हामी अग्रसर हुन सक्छौं ।

आजै अहिलेबाटै हामी वातावरणमैत्री स्वास्थ्यका लागि उपयोगी सवारीको साधान साइकल चढ्ने प्रण गरौं । अरुलाई पनि साइकल चढ्नका लागि प्रोत्साहन गरैं । यसैबाट हामी हाम्रो लागि महत्वपूर्ण कुरा वातावरण जोगाउन सक्छौं अनि स्वस्थ रहन सक्छौं । हाम्रो समाजलाई देशलाई स्वस्थ र स्वच्छका साथसाथै समृद्ध बनाउन सक्छौं । आर्थिकरुपमा आत्मनिर्भर बनाउन सक्छौं र बन्न सक्छौं ।