Rumpum Advertisement

पाँचथरमा तीन करिडोर सडक निर्माण हुँदै

Neuro Revised Adv
Koshi Dashain ad
पाँचथरमा तीन करिडोर सडक निर्माण हुँदै

पाँचथर, ७ असोज । द्रुतमार्गका रुपमा विकास गर्ने उद्देश्यसहित पाँचथरमा तीनवटा करिडोर सडक निर्माण कार्य सुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा करिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिडी क्षेत्रलाई समेट्न नावाँ कोरिडोर सडक निर्माण सुरु भएको हो । तीनवटै करिडोर पहाडै–पहाड निर्माण गरिएका अन्य सडकहरुलाई समेट्दै तमोर करिडोर सडकमा जोडिनेछन् ।

तमोर कोरिडोर धनकुटाको मुलधारबाट पाँचथर–ताप्लेजुङ हुँदै नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय सडक हो । हालसम्म पहाडै–पहाड सडक विस्तार गर्ने गरिएकामा तमोर नदीको किनार हुँदै तमोर करिडोर निर्माडा अघि बढेपछि जिल्लाभित्र पर्ने खोलाका किनार हुँदै द्रुतमार्गका रूपमा करिडोर सडक निर्माण सुरु गरिएको हो ।

यी तीनवटै करिडोरहरु प्रदेश नं १ सरकारले विशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार गत आर्थिक वर्ष २०६७/०७७ मा तीनवटै करिडोरमा समान ८७ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट करिडोरहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा ट्रयाक निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय पाँचथरका निमित्त प्रमुख ललितकुमार चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षका लागि तीनवटै करिडोरका लागि समान एक करोड १० लाख बजेट छुट्टिएको र कार्यान्वयनको अख्तियारी प्राप्त हुन लागेको निमित्त प्रमुख चौधरीले बताए ।

गत आवमा हेवा करिडोरको २.७६ किमी, निवु करिडोरको २.६ किमी र नावा करिडोरको ३.९ किमी ट्रयाक निर्माण सम्पन्न भएको छ । यस्तै हेवा करिडोरको २१ किमी र नावा तथा निवु करिडोरको समान २३ किमीको डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । करिडोर सडकहरुको चौडाइ आठ मिटर हुनेछ । नावा करिडोर २३ किलोमिटरको हुने तय भए पनि बाँकी दुई करिडोरको डीपीआर चालु आवमा मात्रै पूरा हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चौधरीको भनाइ छ ।

द्रूतमार्गको रूपमा विकास हुने तीनवटै सडकले जिल्लावासीलाई ठूलो लाभ मिल्ने भए पनि चाँडो निर्माण कार्य पूरा गर्न यथेष्ट बजेटको सुनिश्चिता हुनुपर्ने चौधरीको भनाइ छ । ‘तीनवटै करिडोर मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा समावेश भएकाले निर्माण अघि बढ्ने निश्चित छ,’ चौधरीले भने, ‘तर भौगोलिक विकटता र ठूलाठूला चट्टान पार गर्नुपर्ने भएकाले यथेष्ट बजेटको सुनिश्चिचता भइदिए निरन्तर निर्माण कार्य अघि बढाउन सहज हुन्थ्यो ।’

फिदिम नगरपालिका–४ माझीटार सुरु विन्दु रहेको हेवा कोरिडोर नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रसम्म विस्तार गर्ने सरकारी लक्ष्य छ । यस करिडोरले फिदिम नगरपालिकासहित हिलिहाङ र फालेलुङ गाउँपालिकामा पर्ने विभिन्न गाउँहरुलाई समेट्छ । निवु कोरिडोर फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमामा पर्ने सिवादोभानमा सुरु विन्दु भई पाँचथर–इलाम सीमावर्ती राँके बजारमा जोडिनेछ ।

यस करिडोरले फिदिम र फाल्गुनन्द गाउँपालिकालाई समेट्दै मेची राजमार्ग र तमोर करिडोरलाई द्रूत मार्गबाट जोड्ने कामसमेत गर्ने यहाँका स्थानीयवासी एवम् संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङको भनाइ छ । नावा करिडोरले तुम्बेवा र मिक्लाजुङ गाउँपालिकालाई समेट्छ भने तमोर करिडोर र राँके–रबी–भेडेटर सडकलाई जोड्ने द्रूतमार्गसमेत बन्छ ।

निवु करिडोर निर्माणका लागि पहल गर्दै आएका संविधानसभा सदस्य नेम्वाङ करिडोर सडकले निर्माणका क्रममा कमभन्दा कम क्षति गर्ने, द्रूतमार्ग र अन्य सडकहरुको पहुँचमार्गका रूपमा विकास हुने भएकाले यसको निर्माणमा विशेष जोड दिइएको बताउँछन् ।

‘तमोर करिडोर निर्माण थालिएपछि नदीको किनारैकिनार सडक निर्माण गर्न सके स्थानीयवासीले धेरै लाभ प्राप्त गर्ने देखियो,’ नेम्वाङले भने, ‘त्यसैले जिल्लाभित्र साना कोरिडोर निर्माण थालिएको हो, करिडोर सडकहरुका बहुआयाम छन् ।’ द्रूतमार्ग हुनाले कृषि उपजको निकासी, गाउँहरुसम्म विशेषतः ढुवानीका ठूला सवारीसाधन भित्र्याई, व्यापारिक केन्द्र निर्माण, नागरिकलाई सहज पहुँच पुग्ने अपेक्षा गरिएको नेम्वाङको भनाइ छ ।

सडकको पहुँच पुर्‍याउन भन्दै यहाँका गाउँहरुमा निर्माण भएका सडकका ट्रयाकहरु अहिले अलपत्र जस्तै अवस्थामा पुगेका छन् । खोलाहरुमा पुल नहुँदा सडकहरु त्यहीँ टुंगिएकासमेत भेटिन्छन् । करिडोर सडकहरुले अलपत्र परेका सडकहरु ब्युँत्याउने संविधानसभा सदस्य नेम्वाङको जिकिर छ । रासस