Rumpum Advertisement

सम्भावित बलिबाट जोगिएको ज्यान

Neuro Revised Adv
Koshi Dashain ad
सम्भावित बलिबाट जोगिएको ज्यान

भारतको सिम्राही पुर्‍याएपछि आफूलाई बेच्न ल्याएको थाहा पाएर चलाखीपूर्ण हिसाबले फर्कन सक्दा किशोरीको ज्यान जोगियो । किशोरी फर्कन नसकेको भए घटना के हुने थियो भनेर यसै भन्न सक्ने अवस्था छैन । बल्लबल्ल नेपाल आउन सक्नुनै उनका लागि ठूलो भाग्य भयो ।

विराटनगर, ७ असोज । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया किशोरीलाई चिनजानकै २२ वर्षीया मनिका ढकालले पूजामा जानुपर्छ भन्दै गत आइतबार बिहान विराटनगर लिएर आइन् ।

मोरङको लेटाङ नगरपालिका–३ घर भएकी मनिका झुम्कामा दिदीसँग तरकारीको व्यापार गर्थिन् । त्यसक्रममा किशोरीको घरमा उनको आउजाउ हुन थाल्यो । परिवारसँग चिनजान भयो । किशोरीकी आमाले उनलाई भान्जी भनेर बोलाउँथिन् । साइनो जोड्दै परिवार र किशोरीसँग नजिकिएकी मनिकाले एक सातादेखि उनलाई विराटनगर पूजामा जानुपर्छ भन्दै फकाउन थालेकी थिइन् ।

प्रहरी नियन्त्रणमा रहेकी मनिका ढकाल ।

कन्या (अविवाहित युवती) आवश्यक पर्ने पूजामा बस्दा टीका लगाएर पाँच हजार रुपैयाँ दक्षिणा दिन्छन् र आफ्नो पैसा पनि आउने भएकाले एउटा मोबाइलसमेत किनिदिन्छु भन्दै उनले किशोरीकी आमालाई विश्वस्त पारिन् । विराटनगर म आफै जान्छु भन्दै सुरुमा आमाले आनाकानी गरिन् । तर चिनजानकै युवतीले आफ्नो साथी पनि हुने र पूजा सकिएपछि दुई घण्टाभित्रमा फर्किएर आउने कुरा बारम्बार भन्न थालेपछि आमाले छोरीलाई विराटनगर जान अनुमति दिइन् ।

विराटनगर ल्याउने क्रममा गाडीमा सेल्फी खिचेजस्तो गरेर किशोरीको फोटो खिच्दै मनिकाले सामाजिक सञ्जालबाट कसैलाई पठाएको पनि खुलेको छ । फोटो नखिच्न र अरुलाई नपठाउन आग्रह गर्दा केही पनि नहुने बताउँदै उनले सेल्फीको बहाना बनाएर केही फोटाहरु खिचेर सामाजिक सञ्जालमार्फत अरुलाई पठाएको आफूले देखेको किशोरीले बताएकी छन् । खोजी गरेर जुटाएकी किशोरी ठिक भए/नभएको रुजु गर्न फोटो त्यसरी पठाएको हुन सक्ने प्रहरीको आँकलन छ ।

विराटनगर लिएर आएकी उनले किशोरीलाई सप्तरीको विष्णुपुर-५ घर भएका २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीकै तिलाठीकैलाडी-१ का २० वर्षीय प्रदीपकुमार मण्डलसँग भेट गराइन् । सुमितकै योजनामा मनिकाले किशोरीलाई विराटनगर ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी नियन्त्रणमा रहेका प्रदीपकुमार मण्डल र सुमितकुमार मण्डल ।

तीनजना मिलेर किशोरीलाई विराटनगर महानगरपालिका-१७ इस्लामपुरको बाटो हुँदै भारततर्फ लिएर गएका हुन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण नेपाल-भारत सीमा नाका बन्द छ । दुई देशबीच आउजाउ बन्द भएको अवस्थामा आतजावत रोक्नका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले पनि उनीहरु भारत छिरेको पत्तै पाएनन् ।

किशोरीले पनि भारततिर लगेको अड्कल काट्न सकिनन् । भारतको जोगवनीबाट २० किलो मिटरको दूरीमा रहेको फारविशगञ्जसम्म उनीहरु टेम्पोमा गए । त्यहाँबाट पुगेपछि उनीहरुले किशोरीलाई बस चढाए । फारविशगञ्जबाट ४८ किलोमिटर पर रहेको सिम्राहीसम्म बसमा पुर्‍याएको प्रहरीको अनुसन्धानले देखाएको छ । बसबाट ओर्लिएसँगै युवाहरुले ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको किशोरीले सुनिन् ।

सिम्राही लेखेको बोर्ड देखेपछि मात्रै उनले आफूलाई भारत ल्याएको चाल पाइन् । तीनजना एकातिर लागेर गफ गर्न थालेको मौका छोप्दै उनीहरुका आँखा छलेर किशोरी फारविशगञ्ज आउने बस चढिन् ।

पछ्याउन थालेका उनीहरु पनि बस रोकेर चढे । पीडित किशोरीले बसमा तीनैजनाले केही हुँदैन र डराउन पर्दैन भनेर आफूलाई धेरै फकाउने काम गरेको कोशी अनलाइनलाई बताइन् । फकाएर उतै लैजाने योजना बनाए पनि किशोरीले नमान्दा सम्भावित बलिबाट उनको ज्यान जोगिएको अनुमान गरिएको छ ।

फारविशगन्जमा बस आइपुग्न साथ ढोकाबाट हामफालेर एउटा टेम्पोमा उनी जोगवनीतिर फर्किनन् । अर्को टेम्पोबाट उनीहरुले पिछा गर्न छाडेनन् । जोगवनी आइपुगेपछि नयाँ ठाउँमा उनी अलमलमा परिन् । आइतबार साँझ जोगवनी आइपुगेकी उनले भारतीय प्रहरीसँग नेपाल छिर्ने बाटो सोध्दै गर्दा तीनजनाले भेट्टाए ।

भारतीय प्रहरीले एकीकृत भन्सार जाँच चौकी (आईसीपी) हुँदै नेपाल छिर्ने बाटो देखाइदिए । त्यसपछि नेपालतिर आउने क्रममा पनि आफूलाई उनीहरुले पिछा गर्न र फकाउन नछाडेको उनले बताइन् । त्यही क्रममा इस्लामपुर आइपुगिन् ।

इस्लामपुर नाका आइपुगेपछि उनलाई साना हातहरू नामक संस्थाका प्रतिनिधिले सोधीखोजी गर्न थाले । किशोरीले आफूलाई पूजाका लागि भनेर विराटनगर ल्याएको र भारत पुर्‍याएको बताएपछि दुई युवा फरार भए । किशोरी र मनिकालाई संस्थाका प्रतिनिधिले आफ्नो साथमा राख्दै प्रहरीसँग घटनाको समन्वय गरे ।

तत्कालको घटना हेर्दा दुई युवती पीडित भएको भान प्रहरी र संस्थाका प्रतिनिधिलाई परेको थियो । किशोरीको बयानबाट भारत पुर्‍याउन मनिकाको पनि हात रहेको खुल्यो । त्यसपछि प्रहरीले मनिकासँग समन्वय गर्दै फरार भएका युवाहरुलाई सम्पर्क गर्न लगाए । मनिकाको फोनपछि आइपुगेका दुवै युवालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा घटना गम्भीर रहेको देखियो ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले किशोरीलाई भारत लैजान सुमित घटनाका मुख्य योजनाकार र प्रदीप उनका सहयोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । अनुसन्धान गर्ने क्रममा मनिकाले पूजामा राख्न बिहे नगरेकी कन्या खोजिदिए तीन/चार लाख रुपैयाँ दिने भनेर सुमितले भनेकाले आफू यो काममा लागेको बताएकी छन् ।

एपसी खड्काले पनि किशोरीको खोजी गर्न र विराटनगरसम्म ल्याउन सुमितले मनिकालाई प्रयोग गरेको बताएका छन् ।

किन भयो अविवाहित किशोरीको खोजी

सुमितका भिनाजु रनदीर मण्डल भारतको सहर्सामा बसेर निर्माणसम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ ।

भिनाजु र उनका भाई वीरेन्द्रले सुमितलाई ५.२ फिट उचाई भएकी, अविवाहित र पूजामा बसेका बेला रजश्वला नभएकी युवती खोजेर आफूलाई ल्याइदिए १२ लाख रुपैयाँ दिने बताएको खुलेको छ । भिनाजुले पूजाका लागि भनेर मगाएपछि सुमित केटीको खोजीमा लागेका थिए । प्रारम्भिक अनुसन्धान र सोधपुछकै क्रममा सुमितले यो कुरा स्वीकार गरिसकेको साना हातहरु नामक संस्थाका मोरङ संयोजक विवश श्रेष्ठले बताए । उनका अनुसार किशोरी ५.२ फिट उचाई भएकी, अविवाहित र पूजाका समयमा रजश्वला नभएको हुनु पर्ने सर्त रहेको पनि खुलेको छ ।

‘सिम्राही पुर्‍याएपछि भिनाजु र उनका भाइको जिम्मा लगाउने तयारी रहेको देखिन्छ,’ उनले भने, ‘तर किशोरी भागेपछि उनीहरू आफ्नो योजनाबाट असफल भएको पाइयो ।’ पीडितको उद्दार गर्दै घटनामा संलग्न पक्राउ गर्नका लागि प्रहरीसँग समन्वय गरिएको जानकारी श्रेष्ठले दिए ।

सुमितले तीन/चार लाख दिने भनेपछि पैसाको अभाव रहेकाले आफू पनि भनेअनुसारकी कन्याको खोजीमा लागेर सहयोग गरेको मनिकाले बताएकी छन् । उनले फेसबुकमार्फत केही समयअघि चिनजान भएपछि सुमितसँग आफ्नो सम्पर्क बढेको बताएकी छन् । त्यही फेसबुक सम्पर्ककै आधारमा उनले केटी खोजिदिन आफूलाई आग्रह गरेको मनिकाको भनाइ रहेको श्रेष्ठले बताए ।

प्रहरी स्रोतका अनुसार तीन/चार लाखजति मनिकालाई दिएर अरु पैसा सुमित र प्रदीपले राख्ने योजना बनेको खुलेको छ । एसपी खड्काले ठूलो रकमको ‘डिल’ भएर किशोरीलाई भारत पुर्‍याउन खोजिएको सूचना आएपछि प्रहरीले घटनालाई गम्भीररूपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

परिवारमा तनाव
दुई घण्टामा फर्किएर आउनेभन्दै बिहान ७ बजे छोरीलाई लगिए पनि साँझसम्म किशोरी घर फर्किनन् । त्यसपछि तनावमा परेको परिवारले उनको खोजी थाल्यो । फोन गर्दा मनिका र किशोरी दुवैको मोबाइल अफ थियो ।

तर केहीबेरमा साना हातहरु नामक संस्थाले भारत लैजान लागिएको अवस्थामा उद्धार गरेर छोरीलाई राखिएको जानकारी परिवारलाई दियो । त्यसपछि झन् परिवारमा तनाव थपियो । ‘विराटनगर ल्याएको भन्दै मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीको ढोकाबाट हाम्फालेर भागें,’ ती किशोरीले कोशी अनलाइनलाई भनिन्, ‘त्यसपछि बल्लबल्ल नेपाल छिर्न सकेकाले मेरो ज्यान जोगियो ।’ बीच बाटोमा धेरै फकाउने कोशिष गरे पनि आफूले नमानेपछि उनीहरु पनि आफूलाई पछ्याउँदै आएको उनले सुनाइन् ।

बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरू व्यक्तिसँग फोनमा कुरा गरेको थाहा पाएपछि आफूले बच्नलाई चलाखी गरेको किशोरीको भनाइ छ । मनिकाले विराटनगर ल्याउने क्रममा बाटोमा उचाई नाप्ने टेप किनेर किशोरीको उचाइसमेत नापेको खुलेको छ । उनले उक्त टेप झुम्कामा ९० रुपैयाँमा किनेर किशोरीको उचाई नाप्दै पूजामा यति नै उचाई भएकी कन्या चाहिन्छ भनेकी थिइन् ।

किशोरीले भनिन्, ‘रजश्वला कहिले भएको थियो भनेर मलाई सोध्ने काम पनि भयो । पूजामा बस्दा कालो कपडा लगाउनु पर्छ । कालो कपडाले छोपिएर पूजामा बस्नु पर्ने भएकाले डराउन नपर्ने पनि बताइयो ।’

लगियो नेपाली युवती

नेपाल प्रहरीका अनुसार बिहारका कतिपय गाउँमा ५.२ फिट उचाइ भएकी र अविविवाहित युवती खोजेर बलि चढाउने अन्धविश्वास कायमै छ ।

भारतीयले बलि चढाउनका लागि विभिन्न माध्यम अपनाएर नेपालका सोझासाझा युवतीलाई लैजाने गरेको पनि यसअघिका कतिपय घटनाबाट पुष्टि भइसकेको छ । बिहारमा यस्ता युवती पुर्‍याउँदा धनाड्यले ठूलै रकम खर्च गर्ने गर्छन् । त्यही आधारमा किशोरीलाई लगिएको घटना पनि सम्भावित ‘बलि’ हुन सक्ने अनुमान गरिएको छ ।

प्रहरी स्रोतले यति ठूलो रकम र पूजाको विवरण विश्लेषण गर्दा अन्धविश्वास व्याप्त रहेको भारतमा ‘बलि’ चढाउन किशोरीलाई लगिएको हुन सक्ने अनुमान गरेको छ । घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बलि दिन भारत लैजान खोजिएको हुनसक्ने प्रहरीको विश्लेषण छ ।

श्रेष्ठले भारतको सिम्राही पुर्‍याएपछि आफूलाई बेच्न ल्याएको थाहा पाएर चलाखीपूर्ण हिसाबले फर्कन सक्दा किशोरीको ज्यान जोगिएको बताए । उनका अनुसार सिम्राहीमा किशोरीलाई लिन सुमितका भिनाजु र भाई लिन आउने योजना रहेको खुलेको छ । तर किशोरीलाई सिम्राही पुर्‍याएका बेला उनीहरु आइनपुग्दा किशोरीले फारविशगञ्ज, जोगवनी हुँदै नेपाल फर्कने मौका पाएको श्रेष्ठको भनाइ छ । ‘किशोरी फर्कन नसकेको भए घटना के हुने थियो भनेर यसै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘बल्लबल्ल नेपाल आउन सकेका कारण किशोरीको ज्यान चाहिँ जोगियो ।’

श्रेष्ठले घटनाको प्रकृति हेर्दा किशोरीलाई बलि चढाउनका लागि लगिएको कुरामा दुई मत नहुने भन्दै प्रहरी अनुसन्धान यसतर्फ केन्द्रीत हुनु पर्नेमा जोड दिए । उद्धार गरिएका बेला किशोरी पूरै डराएको अवस्थामा रहेको बताउँदै उनले नियन्त्रणमा लिएर सोधीखोजी गर्दा झुक्याएर भारततर्फ लगिएको पाइएको उल्लेख गरे ।

एसपी खड्काले घटनामा संलग्नहरूको अरू ‘कनेक्सन’ खोतल्न थालिएको जानकारी दिएका छन् । ‘गम्भीरखालको घटनाको प्रकृति हेर्दा यसमा अरूको पनि संलग्नता हुन सक्छ,’ उनले भने । समित, प्रदीप र मनिका तीनैजनालाई पक्राउ गरेर उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको खड्काले बताए ।