Rumpum Advertisement

विराटनगरमा प्रयोगशाला थपियो, परीक्षण घट्यो

Neuro Ad
विराटनगरमा प्रयोगशाला थपियो, परीक्षण घट्यो

विराटनगर ६ असोज । समुदायस्तरमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि छुट्टै मेसिन जडान गरेपनि स्वाब संकलन दर घटेको छ ।

पीसीआर जाँच क्षमता बढेपनि विराटनगर महानगरपालिकाले स्वाब संकलन न्यून मात्रमा गरिरहेको हो ।

महानगरमा दैनिक सरदर १ सय २० हाराहारीको मात्र स्वाब संकलन हुँदैआएको छ । विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर जाँच हुन्छ ।

कोशी अस्पताल विराटनगरको समन्वयम स्वाब संकलन गरिरहेको महानगरका स्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले बताए । क्षमताअनुसार परीक्षण हुने भए दैनिक १ हजार जनाको स्वाब संकलन गर्नसक्ने उनले बताए ।

संकलन गरिएको स्वाबको रिपोर्ट ढिलो आउन थालेपछि निजी क्षेत्रको सहयोगमा पीसीआर मेसिन र आरएनए एक्ट्रयाक्सन मेसिन खरिद गरी महानगरपालिकामार्फत कोशी अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

मेसिन सुचारु भए पनि महानगरपालिकाभित्र स्वाब संकलन र परीक्षण बढ्न सकेको छैन ।

महानगरले स्वाब परीक्षण मेसिन हस्तान्तरण गरेको कोशी अस्पतालको प्रयोगशालाबाटै सोचेअनुसारको सहयोग हुन नसकेको कार्कीले बताए ।

महानगरबासीको स्वाब परिक्षणको रिपोर्ट भने अझै पनि ३ दिन ढिलो आइरहेको उनले बताए । ‘रिपोर्टिङ जति चाँडो भयो कन्ट्याक्ट ट्रेसिङको काम त्यतिनै चाँडो अगाडि बढाउन सकिन्छ,’ उनले भने, ‘ल्याबबाट रिपोर्टिङ ढिलो हुँदा संक्रमण नियन्त्रणमा कठिनाई भएको छ ।’

विराटनगर महानगरपालिकाले २७ भदौमा १ सय ४७ ,२८ गते १ सय ३६ ,२९ गते ५८, ३० गते १ सय ३७ र ३१ गते २ सय ६ जनाको स्वाब संकलन गरेको थियो ।

असोज १ मा ९७, २ गते १ सय २६, ३ गते २ सय ६ जनाको र ५ गते ६५ जनाको संकलन गरेको थियो । विराटनगर महानगरपालिकामा १ हजार ७ सय बढी कोरोना संक्रमित छन् ।