Rumpum Advertisement

सुनसरीकी युवतीलाई बली चढाउन भारत लगेको आशंका, १२ लाखमा ‘डिल’ गर्ने तीन जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीकी युवतीलाई बली चढाउन भारत लगेको आशंका, १२ लाखमा ‘डिल’ गर्ने तीन जना पक्राउ

विराटनगर, ६ असोज । सुनसरीकी एक युवतीलाई बेचबिखनका लागि भारत पुर्‍याएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया युवतीलाई बली चढाउनका लागि भारत लगेको आशंकामा प्रहरीले पीडितको उद्दार गरी तीन जनालाई पक्राउ गरेको हो ।

सोमबार राति करिब ७ बजे किशोरीलाई विराटनगर महानगरपालिका–१७ इस्लामपुरबाट उद्धार गरिएको थियो । घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार आइतबार बिहान युवतीलाई विराटनगर हुँदै भारतको फारबिसगञ्जसम्म पुर्‍याइएको थियो । तर योजनाका बारेमा युवतीले थाहा पाएपछि भागेर उनी नेपालतर्फ आएकी थिइन् ।

आइतबार साँझ करिब ७ बजे साना हातहरू नामक संस्थाको सहयोगमा प्रहरीले विराटनगर महानगरपालिका–१७ इस्लामपुरबाट किशोरीको उद्दार गरी भारत लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भइ सुनसरी रामधुनी नगरपालिका–५ झुम्कामा तरकारी पसल सञ्चालन गर्दै आएकी २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका–५ घर भएका २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीकै तिलाठीकैलारी गाउँपालिका १ घर भइ विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई पक्राउ गरेको हो ।

पूजामा पाँच हजारको आश्वासन, १२ लाखमा बिक्रीको डिल

मनिकाले विराटनगरमा हुने पूजामा सहभागी हुँदा कुमारी केटीलाई पाँच हजार दिने र आफूले एउटा मोबाइल किनिदिने भन्दै आचार्य थरकी किशोरीलाई आइतबार बिहान घरबाट ल्याएकी थिइन् ।

विराटनगर बसपार्क आएका सुमित, प्रदीप र मनिकाले उनलाई भारततर्फ लिएर गए । आइसीपी नाकाबाट जान नपाएपछि उनीहरूले चोरबाटो हुँदै उनलाई भारततर्फ लगेका थिए । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनाका मुख्य योजनाकार सुमित हुन् ।

प्रदीप उनका सहयोगी रहेको खुलेको छ । सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।

‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजानेलाई पक्राउ गरिएको छ,’ उनले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।’

१७ वर्षीय किशोरीको घर नजिकै मनिका बस्दै आएकी थिइन् । किशोरीको घरमा उनको आउजाउ राम्रो थियो । प्रहरीका अनुसार मनिकाको फेसबुकमार्फत सुमितसँग चिनजान भएको थियो । मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।

किशोरी पाँच फुट २ इञ्च हुनुपर्ने, विवाह नभएको र महिनावारी नभएको हुनुपर्ने शर्त थियो । पूर्वतयारीअनुसार मनिकाले घरमै किशोरीको उचाई नाप्दा पाँच फुट २ इञ्च थियो । सुमितका नातामा भिनाजु पर्नेले पूजाका लागि युवती मगाएका थिए ।

सोमबार भारत लैजाने योजनाअनुसार मनिकाले किशोरीकी आमासँग पूजामा सहभागी हुने र आफ्नो पैसा उठाउनका लागि साथी लैजाने भनिन् । सुरुमा असहमति जनाएकी आमाले पूजामा सहभागी हुँदा कन्या पूजा गरेर पाँच हजार दिने र २ घण्टामा आउने बताएपछि विराटगरसम्म जान अनुमति दिइन् ।

छिट्टै फर्कने शर्तमा गएका उनीहरू फर्किएनन् । घरबाट किशोरीकी आमाले फोन गर्दा दुवै जनाको मोबाइल अफ थियो । ‘कन्या (कुमारी) केटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर आमालाई विश्वस्त पारेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँमाथि मेरो पनि पैसा आउने भएकाले एउटा मोबाइलसमेत किनिदिन्छु भन्दै मनिकाले थप प्रलोभन देखाएको खुलेको छ ।’

युवतीलाई पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने र कालो लुगाले छोप्दा डराउन नहुने भन्दै मनिकाले सम्झाएकी थिइन् । पूजामा आफूसँगै हुने बताएपछि पाँच हजार पाउने आशमा उनले सहमति जनाइन् । तर विराटनगरबाट भारततर्फ पुगेको उनले पत्तो पाइनन् ।

फारबिसगञ्ज पुुगेपछि उनले आफू बेचिन लागेको थाहा पाइन् । सुमितका भिनाजु फारबिसगञ्जसम्म लिने आउने योजना थियो । तर सुमितसँग भारतीय सीमकार्ड नभएका कारण सम्पर्क हुन सकेन । आफू बेचिन लागेको थाहा पाएपछि किशोरी चढेको गाडीबाट हाम्फालेर भागिन् । साँझ पर्न लागेको अवस्थामा उनी एक्लै फर्कन थालेपछि उनीहरू पनि पछिपछि आए ।

सीमा कटाएर जोगबनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन् । ‘मलाई भारत पुर्‍याएको थाहा पाएपछि गाडीबाट हामफालेर भागेँ,’ उनले भनिन्, ‘रुन थालेपछि नडराउन आग्रह गर्दै उनीहरू पनि मलाई पछ्याउँदै आए ।’

प्रहरीका अनुसार सुमितका भिनाजु रन्दीर मण्डल भारतको सहर्सा जिल्लाको झिट्कियामा बसेर निर्माणसम्बन्धी ठेक्का पट्टाको काम गर्दै आएका छन् ।

उनले सुमितलाई पूजाका लागि किशोरी ल्याए १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । सुमितले युवती खोज्न मनिकालाई लगाए । पैसा पाउने आशमा मनिकाले छिमेकी किशोरीलाई लिएर गएको प्रहरीले बताएको छ ।

‘१२ लाखमध्ये मनिकालाई चार–पाँच लाख जति दिएर अरु पैसा सुमित र प्रदीपले राख्ने योजना रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘भारत लैजान खोज्नेहरूलाई पक्राउ गर्न सकियो ।’

उद्दारमा खटिएको साना हातहरूका विराटनगर प्रमुख विवस श्रेष्ठले घटनाको प्रकृति हेर्दा किशोरीलाई बली चढाउनका लागि लगिएको जस्तो देखिएको बताए । ‘विराटनगरमा एक रात होटलमा राखेर भोलिपल्ट पुनः लगेर जिम्मा लगाउने योजना रहेछ,’ उनले भने, ‘भारत पुगेर फर्किँदै गर्दा इस्लामपुरबाट प्रहरीको सहयोग लिएर किशोरीको उद्धार गर्दै उनलाई लिएर जाने तीन जनालाई नियन्त्रणमा लिन सकिएको हो ।’

उद्धार गरिएका बेला किशोरी पूरै डराएको अवस्थामा रहेको बताउँदै श्रेष्ठले नियन्त्रणमा लिएर सोधीखोजी गर्दा झुक्याएर भारततर्फ लगिएको पाइएको बताए ।

प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्नहरूको अरु ‘कनेक्सन’का खोतल्न थालिएको बताए । ‘घटनाको प्रकृति हेर्दा यसमा अरुको पनि संलग्नता हुन सक्छ,’ उनले भने, ‘उनीहरूको थप ‘कनेक्सन’ खोतल्दै घटनामा क-कसको संलग्नता छ भन्नेबारेमा अध्ययन थालिएको छ ।’

पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।