birat ribon

तीनधारा झरना पर्यटकीय गन्तव्य बन्दै

Neuro
तीनधारा झरना पर्यटकीय गन्तव्य बन्दै

बनेपा, ६ असोज । पहिले गाईबाख्रा चराउन र घाँस दाउरा गर्न जाने स्थानीयको मात्र भेटघाट हुने गरेको काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको संख्यामा मानिसको आवतजावत भइरहेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडास्थित पर्यटकीयस्थल तीनधारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो । यससँगै यहाँका स्थानीयमा खुसी छाएको पनि उनीहरु बताउँछन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत् झरनाको बारेमा प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोक जिल्लालगायत छिमेकी विभिन्न जिल्लाबाट समेत झरना अवलोकन गर्न जानेहरु बढेका छन् ।

cura insider

बनेपा नगरपालिका वडा नं १२ का मुकुन्द शर्माले सामाजिक सञ्चालमार्फत् थाहा पाएर झरना हेर्न यहाँ आएको बताए । ‘जति थाहा पाएको थिएँ, यहाँ आइपुग्दा भने छुट्टै आनन्दाको अनुभूति हुँदो रहेछ,’ उनले भने । बाटो असहज भए पनि झरना पुगेपछि त्यहाँको आकर्षक प्राकृतिक सौन्दर्यले गर्दा सबै दुःखकष्ट भुल्ने उनको अनुभव छ । झरना पुग्ने बाटोको सुधार गर्दै पर्यटन पूर्वाधारको कामलाई अझ व्यवस्थित गर्न सकेको खण्डमा यस झरना नेपालको एक प्रमुख आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ । स्थानीयवासीको पहल र स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा यो ठाउँको संरक्षण र विकासका लागि थप लाग्नुपर्ने उनले सुझाए ।

ललितपुर पाटनढोकाका प्रेम सुनुवारले पनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेको झरनाको दृश्य र तस्वीर देखेपछि घुम्न आएको बताए । ‘झरना जति मनमोहक छ, त्यति नै दृश्यावलोकन गर्ने ठाउँ, डाँडाहरुमा हिँडडुल गर्न जोखिम अवस्था पाएको छु, त्यस्ता अप्ठ्यारा स्थानमा बार लगाएर जान मिल्ने र नमिल्ने ठाउँलाई व्यवस्थापन गर्न आवश्यक देखेँ,’ उनले भने ।

काठमाडौँ महाराजगञ्जका विमला बिष्टले प्राकृतिकस्थल भएका कारण यसलाई बढी सिँगार गर्नुभन्दा यस्तै अवस्थालाई संरक्षण गरेर राख्न सकेमा मात्र पनि यस स्थान र यहाँको झरना सुन्दर हुने बताइन् । आउँदा बाटोको कारण अप्ठ्यारो भए पनि झरना पुगेपछि निकै आनन्द मिलेको उनको अनुभव छ । यहाँ आउनेहरुले यहाँ रहेको कुण्डलाई अलि फराकिलो बनाएर बार लगाएको खण्डमा थप आकर्षक हुने र यसले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने सुझाव दिएका छन् ।

स्थानीय सरकारको सहयोगको अपेक्षा

यो झरना र स्थानीय अरु आकर्षकस्थलको प्रचार गरेर विकासको पहल त स्थानीयले सुरु गरिसकेका छन् । तर थप विकास र प्रबद्र्धनका लागि स्थानीय तथा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनीहरुको भनाइ छ । यस वडाका अध्यक्ष पोते लामाले महाभारत क्षेत्रको भुरुंगे लेकबाट निस्केको मुहानबाट आएकोे झरना तीन ठाउँबाट झरेका कारण तीनधारा नाम रहेको बताए । लेकको स्वच्छ पानी भएको र जसले छाला रोगसम्बन्धी बिरामीले त्यहाँ नुहाएमा निको हुने भन्ने जनविश्वाससमेत रहेको वडाध्यक्ष लामाले बताए । सो झरनादेखि पूर्वमा अर्का दुई झरना रानी झरना र महावीर झरनासमेत उत्तिकै आकर्षक र मनमोहक रहेको उनले बताए ।

रोशी गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामाले रोशी गाउँपालिकाभित्रको पर्यटकीयस्थलमध्येको महत्वपूर्ण झरना भएको ठाउँ वडा नं २ को काफलडाँडालाई पर्यटकी क्षेत्र घोषणा गरिसकिएको र पर्यटन बोर्डमा पनि संरक्षणको लागि पहल भइरहेको बताए । पालिकाले प्राविधिक टोली खटाएर झरनामा आउने जाने ठाउँको करिब एक किलोमिटरको अप्ठ्यारो बाटोलाई आउने जाने गरी दुईतिर बनाउने र झरना आसपासमा हिँडडुल गर्न सहज हुने गरी तारबार गर्ने तयारीमा रहेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले त्यो ठाउँसम्म पुग्ने बाटोको अवस्था अलिक कठिन भएकाले त्यसलाई व्यवस्था गर्ने पहिलो दायित्व भएकाले यस विषयमा थप कार्य अघि बढाइने बताए । उनले त्यससँगै टाढाटाढाबाट आएर त्यहाँ पुग्ने पर्यटकलाई बस्नका लागि पनि व्यवस्था गर्नुपर्ने देखिएकाले वडासँग समन्वय गरेर आवश्यक पूर्वाधारको काममा पालिका लागिरहेको बताए । त्यसका लागि प्राविधिक र विज्ञ टोली खटाएर अनुसन्धान गरिरहेको जानकारी पनि उनले दिए । पर्यटकहरुको वासस्थानका लागि व्यक्ति वा समूहलाई मिलेर समूहमा घरबास बनाउन दिने र राम्रो बनाएको खण्डमा एउटा घरबास बराबर दश हजारसम्मको अनुदान पनि दिने व्यवस्था गरिएको अध्यक्ष लामाले बताए ।

पर्यटक बढेपछि व्यवसाय सुरु

पहिला घरायसी सामान किन्नको लागिसमेत तल बेँसीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीयबासिन्दाहरुले अहिले झरनाका कारण यहाँसम्म आउने आन्तरिक पर्यटककहरको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसाका लागि पसल राख्न संरचनाहरु निर्माण गर्ने काम थालेका छन् । बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा समेत ठाउँको व्यवस्थापन गरेर सानोतिनो पसल राख्न संरचना निर्माण गर्नेदेखि नाङ्लो पसलसमेत राखेर आम्दानी गर्नेहरु बढ्न थालेका छन् ।

काफलडाँडाका ईश्वरी मगरले झरना हेर्न आउनेको संख्यामा वृद्धि हुँदै गएपछि करिब एक हप्तादेखि बाटो छेउमा पसल राख्न सुरु गरेको बताइन् । ‘मान्छेको आगमन बढ्दै गएपछि अलिअलि भए पनि हुन्छ कि भनेर व्यापार गर्न थालेको हुँ,’ उनले भनिन्, ‘दैनिक गुजारा गर्न पुग्ने व्यापार भएको छ ।’ उनी मात्रै नभई त्यहाँका अरु गाउँलेले पनि त्यसरी नै यहाँ फलेका फलफूलका साथै अरु पनि केही स्थानीय उत्पादनहरु राखेर सानो पसलबाट व्यवसाय सुरु गरेका छन् ।

सोही डाँडामा मःमः तथा खाजा पसल सुरु गरेका मनोज बराईलीले अचेल दैनिक चारदेखि पाँच हजारसम्म आम्दानी भएको बताए । रोशी गाउँपालिका वडा नं १ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै आएका उनी कोरोना भाइरसको महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर बसे । घरमा लामो समयसम्म बसेपछि केही व्यापार व्यवसायको खोजीमा रहेका उनले पर्यटकको आवागमन बढ्न थालेपछि सोही स्थानमा मम पसल सुरु गरेको बताए । उनले स्थानीय वीरबहादुर मगरको घर भाडामा लिएर सो पसल सुरु गरेका हुन् । तीनजना मिलेर पसल सुरु गरेको र अहिले दैनिक राम्रै आम्दानी भएको बराईलीले जानकारी दिए ।

अहिले स्थानीय सरकारले फलामेसाँघु, नारायणटार, चण्डीबेँसी, चण्डीडाँडा र काफलडाँडाजस्ता पर्यटकीयस्थललाई लक्ष्य गरेर विभिन्न योजना ल्याउनुपर्ने उनीहरुको माग छ । रासस

jackson ribon