Rumpum Advertisement

दुई छोरीसहित सीतालाई पोखरीले निल्यो, बाबुको ठेगान छैन

Neuro Revised Adv
Koshi Dashain ad
दुई छोरीसहित सीतालाई पोखरीले निल्यो, बाबुको ठेगान छैन

मोतिपुर, ५ असोज । मोरङको ग्रामथान गाउँपालिका–४ मोतिपुरस्थित माइतीमा बस्दै आएकी ३५ वर्षीया सीता कटवाल (अधिकारी)को दैनिकी राम्रैसँग चलेको थियो । श्रीमान सम्पर्कविहीन भएका कारण उनी माइतीकाे शरणमा थिइन् ।

तीन जना डुबेकाे पाेखरी देखाउँदै स्थानीय

माइतमा चार महिनाअघिबाट माछा पालन सुरु गरिएको थियो । भर्खरै सुरु भएको माछा पोखरीमा चराले दुःख दिन्थ्यो । चराले दुःख दिएपछि माछा रुङ्ने जिम्मा सीताको थियो ।

आइतबार बिहान ७ बजेतिर उनी नजिकै रहेको माछा पोखरीमा गइन् । तर सधैँजस्तो रहेन दैनिकी । माछा रुङ्न गएकी उनी फर्कन पाइनन् । उनीसँगै ९ र १४ वर्षीया छोरीको पोखरीमा डुबेर मृत्यु भयो ।

लकडाउनका कारण विद्यालय बन्द छन् । ईश्वर आधारभूत विद्यालयको कक्षा २ पढ्ने कान्छी छाेरी कृतिका र जनता माविको कक्षा ६ मा पढ्ने जेठि छाेरी पवित्रा सधैँ आमासँगै हुन्थे । पोखरी रुँघ्न जाँदा जेठी १४ वर्षीया पवित्रा र कान्छी ९ वर्षीया कृतिका चरा धपाउन सघाउँथे ।

सीताले लिएर गएकाे डाेकाे, दिउँसाेका लागि भनिएकाे खाजा डाेकाेले छाेपिएकाे अवस्थामा छ

माछा पालन सुरु भएपछि छोरीहरूका साथमा डोको, नाम्लो र हँसिया लिएर जाने सीता साँझमा गाई-बाख्राका लागि घाँसको भारी बोकेर फर्किन्थिन् ।

आइतबार बिहान कान्छी छोरी कृतिकालाई लिएर माछा रुँघ्न पोखरीमा गइन् । बिहान १० बजे ठूली छोरी पवित्राले खाना लिएर आमा र बहिनी भएतर्फ गइन् । साथमा दिउँसोको खाजाका लागि भाइबुहारी मञ्जु कटवालले गहुँको रोटी पनि पठाइदिएकी थिइन् ।

सधैँ घाँस लिएर फर्किने सीता र छोरीहरू साँझ ५ बजेसम्म घर फर्किएनन् । मञ्जु, सीताका कान्छो भाइ प्रेम कटवालकी श्रीमती हुन् । साँझसम्म घर नफर्किएपछि बुहारी मञ्जुले ५ वर्षीया छोरी जेनिसा र छिमेकी बालिका १३ वर्षीया भूमिका सुवेदीलाई बोलाउन पठाइन् । आमा–छोरीलाई कतै नदेखेपछि जेनिसा र भूमिका घर फर्किए ।

सीताकाे माइती घर

झमक्क साँझ परिसक्दा उनीहरूको पत्तो लागेन । नफर्किएपछि छर-छिमेकीलाई साथमा लिएर मञ्जु आफैँ पोखरीतिर गइन् । डोको, नाम्लो र हँसिया पोखरीको डिलमा थियो । खाजाका लागि भनेर बिहान पठाइदिएको रोटी डोकेले छोपेको थियो ।

मञ्जुका अनुसार कान्छी भान्जीले लगाएको सबै र ठूली भान्जीका बाहिरी कपडा पोखरीकै डिलमा थिए । तर आमाजू दिदी सीता र भान्जीहरूलाई वरपर खोजी गर्दा नदेखिएपछि उनी पनि फर्किइन् । परिवारका सदस्यलाई नभेटेको जानकारी गराइन् ।

त्यसपछि सीताका जेठो भाइ (मञ्जुका जेठाजु) रुद्र कटवाल साथीहरूलाई लिएर पोखरीमा गएर खोजी गर्न थाले । रात परेकाले लाइट बालेर निक्कैबेर खोजी गरिसकेपछि दिदी सीता पोखरीको पूर्वतर्फ डुबेर मृत्यु भएको अवस्थामा भेटिइन् ।

भान्जीहरू (सीताका दुई छोरी) दिदीको शव भेटिएको भन्दा लगभग पाँच मिटर पश्चिममा पोखरीकै पानीभित्र मृत भेटिए ।

स्थानीयका अनुसार घटनाको खबर पाएपछि प्रहरी आएर तीनै जनाको शव निकाल्दा राति १० बजिसकेको थियो । शव बाहिर निकाल्दा कान्छी छोरीको शरीरमा कपडा थिएन । जेठीले भित्री बस्त्र लगाएकी थिइन् ।

आमाको शव पूरै कपडा लगाएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

उनका अनुसार घटनाको प्रकृति हेर्दा पोखरीमा माछा रुँघ्नेक्रममा गर्मी भएपछि छोरीहरू पौडी खेल्न पसेको र बाहिर निस्कन नसकेपछि उद्धार गरेर निकाल्न गएकी आमाको पनि छोरीहरूसँगै डुबेर मृत्यु भएको हुन सक्छ ।

पानीभित्र छट्पटाउने क्रममा आमा र छोरीहरूको शव भने अलगअलग ठाउँमा भेटिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

कान्छो भाइ प्रेम कटवालका अनुसार २०५६ सालमा सीताको उदयपुरका धनबहादुर थापासँग मागी बिहे भएको थियो । थापातर्फका १९ वर्षीय छोरा छन् । त्यसपछि परिवारमा बेमेल भएसँगै दिदीले झापाका दीपक पुरीसँग दोस्रो बिहे गरेको प्रेमले बताए ।

पुरीसँग दोस्रो बिहे गरेपछि पवित्रा जन्मिएकी थिइन् । तर घरजम राम्रो नभएपछि सीताले तेस्रो विवाह गरिन् । झापाकै अधिकारी थरका व्यक्तिसँग तेस्रो बिहे गरेकी दिदीबाट कृतिका जन्मिएको प्रेमले बताए । तर अधिकारी थरका श्रीमान् पनि भान्जी कृतिका पेटमा आएपछि बेपत्ता भएको प्रेमले बताए ।

‘भान्जी पेटमा हुँदा उहाँ पनि सम्पर्कविहीन भएपछि दिदीको बिचल्ली भयो,’ उनले भने, ‘त्यसपछि दुई भान्जीसहित माइतीमा बस्दै आउनुभएको थियो ।’ उनले माइतीमा भान्जीहरूसहित दिदी बसे पनि कुनै नराम्रो नभएको र परिवारमा मेलमिलाप नै रहेको बताए ।

परिवारमा आम्दानीको स्रोत नभएसँगै कोरोना महामारीले झन् पारिवारिक आर्थिक अवस्था तहसनहस बनाएपछि जेठो दाजु रुद्रले नजिकै पोखरी खनेर चार महिनाअघि माछा पाल्न थालेको प्रेमको भनाइ छ ।

लगभग ८ फिटजति गहिरो पोखरीमा माछाको संरक्षणमा खटिने गरेका दिदी र भान्जीहरूले अकालमा ज्यान गुमाउँदा परिवारमा ठूलो बज्रपात परेको उनले बताए ।

‘दुवै भान्जीका बाबुको अहिलेसम्म कुनै ठेगान छैन । तेस्रो बिहे गर्दा पनि शान्ति नमिलेपछि माइती–मावलीको शरणमा आएका दिदी र भान्जीलाई पनि पोखरीले निल्यो,’ रुँदै प्रेमले भने, ‘भान्जीहरूलाई हुर्काउन माइतीमै भए पनि दिदीले निक्कै संघर्ष र दुःख गरिरहनु भएको थियो । तर आज दुःख गर्ने आमा र आमासँग आश्रित छोरीहरू कसैको पनि जीवन रहेन ।’

उनका अनुसार दिदी र भान्जीहरूको मृत्यु भएको सुनेपछि ६१ वर्षीया आमा दीर्घमाया कटवाल बेहोस बनेकी छन् । पोखरीबाट पश्चिमतर्फ माछा रुँघ्नका लागि दाजु रुद्रले तीन कोठाको एउटा घर पनि बनाउँदै गरेको प्रेमले बताए ।

फन्डेसन उठाएर पिलर राख्ने काम हुँदै गरेको घर पूरा नहुँदै माछा रुँघ्न खटिने दिदी र भान्जीहरूको शव पोखरीभित्रबाट निकाल्नु परेको उनले बताए । ‘यो पोखरी हाम्रा लागि सँधै बल्झिरहने घाउ बनिदियो । दिदी र भान्जीलाई निलेर हामीलाई ठूलो बज्रापातमा पारिदियो,’ उनले भने, ‘यति ठूलो घटना कसरी भयो भन्ने हामी सबै अचम्ममा परेका छौँ । सधैँ पोखरीको डिलमा जान र त्यहाँ भएको घाँस काट्नसमेत डराउने दिदी र भान्जीहरूको शव डुबेको अवस्थामा भेटियो ।’

घटनास्थलबाट लगभग चार सय मिटर उत्तरमा बाब वनष्खण्डी शिवालय मन्दिर छ । स्थानीय अर्जुन माझी अहिले पोखरी बनेको ठाउँमा पहिले पनि पुरानो पोखरी रहेको र त्यहाँ धेरै जनाको डुबेर मृत्यु भइसकेको बताउँछन् ।

‘अहिलेसम्म १० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्,’ उनले भने, ‘माछा पाल्न भनेर नयाँ स्वरुप दिएर बनाएको पोखरीले फेरि एकै परिवारका तीन सदस्यको ज्यान लियो ।’ माझीका अनुसार स्थानीय बासिन्दा पोखरीको नजिकै रहेको मन्दिरमा ठूलो दैविक शक्ति रहेको सम्झन्छन् ।

वडा अध्यक्ष वैजनाथ विश्वासले माछालाई रुँघ्ने र चारो दिने क्रममा गर्मी भएपछि पौडी खेल्न पसेका छोरीहरू निस्कन नसकेपछि अत्तालिएर बचाउन आमा पनि जाँदा तीनै जनाको मृत्यु भएको हुनसक्ने बताउँछन् ।

‘घटना हेर्दा दुई छोरी पोखरीमा डुबेपछि उद्दारका लागि आमा पसेको जस्तो देखिन्छ,’ उनले भने, ‘एउटै परिवारका तीनै जनाको मृत्यु हुँदा गाउँमा सन्नाटा छाएको छ ।’ विश्वासका अनुसार घटनापछि स्थानीय निक्कै त्रसित भएका छन् ।

कोशी अस्पतालमा पोस्टमार्टमपछि तीनै जनाको शव विराटनगरको सिंघीया घाटमा सोमबार अन्त्येष्टि गरिएको छ । सीताको पहिलो श्रीमानबाट जन्मिएका छोरा १९ वर्षीय विवेक थापाले आमालाई दागवत्ती दिएका थिए ।

घाँस काट्नका लागि लगेको डोको, नाम्लो र हँसिया तथा खाजाका लागि भनेर लगिएको रोटी सोमबार साँझसम्म पनि पोखरीकै डिलमा थियो । खाजाका लागि लगेको रोटी पनि नखाएकाले घटना दिउँसो ३ बजेअघि नै भएको हुनसक्ने अनुमान प्रहरी र स्थानीय बासिन्दाले गरेका छन् ।

प्रहरी निरीक्षक ढकालले घटनाका बारेमा गम्भीर रूपमा अनुसन्धान अघि बढाइएका कारण पोस्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै धेरै कुरा खुल्ने जानकारी दिए । उनले पोखरीमा डुबेको अवस्थामा शव भेटिएको र खाजाका लागि लगिएका कारण रोटीको परीक्षण गर्न आवश्यक नदेखिएको बताए ।