Rumpum Advertisement

भिडाललाई मेस्सीको बिदाई सन्देश

Neuro Revised Adv
Koshi Dashain ad
भिडाललाई मेस्सीको बिदाई सन्देश

विराटनगर, ५ असोज । चिलियन मिडफिल्डर अर्टुरो भिडाल बार्सिलोना छोडेर इटालियन क्लब इन्टर मिलान जाने पक्का भइसकेको छ । स्वास्थ्य परीक्षणका लागि इटालीको मिलान पुगेको ३३ वर्षीय स्टार भिडालले चाँडै नै इन्टरसँग सम्झौता गर्ने बताइएको छ ।

दुई सिजन क्याप नोउ बसेका भिडाललाई बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बिदाई सन्देश पठाएका छन् । ‘हामी एक–अर्काविरुद्ध खेल्दादेखि मात्र मैले तिमीलाई चिनेको थिएँ । तर व्यक्तिगत रूपमा तिमीलाई चिन्न पाउने म भाग्यमानी रहेछु’, इन्स्टाग्राममा मेस्सीले लेखेका छन्, ‘हाम्रो ड्रेसिङ रूममा तिम्रो सम्झना भइरहने छ, अर्टुरो । नयाँ क्लबमा तिम्रो काम राम्रो रहोस्, यहीँ मेरो कामना छ ।’

सोही पोस्टमा कमेन्ट गर्दै भिडालले लेखेका छन्, ‘पक्कै पनि हाम्रो पुनः भेट हुनेछ । धन्यवाद एलियन । इतिहासकै उत्कृष्ट तिमीसँग खेल्न पाउनु भाग्यको कुरा हो । तिम्रो मित्रताका लागि धेरै धेरै धन्यवाद ।’

बार्सिलोनासँगको सम्झौता बाँकी छँदै भिडालले क्याप नोउ छोड्न लागेका हुन् । उनी र बार्सिलोनाबीच जुन २०२१ सम्मको सम्झौता थियो ।

तर, बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको भन्दै विकल्प खोज्न भनेपछि उनले पूर्वक्लब जाने निधो गरेका हुन् ।

जर्मन क्लब बायर्न म्युनिखबाट सन् २०१८ मा क्याप नोउ आएका उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् । भिडालले गत सिजन ३३ ला लिगा खेल खेलेका थिए ।