birat ribon

११६ वर्षपछि भक्तपुर अस्पतालमा बल्ल आईसीयू

Neuro
११६ वर्षपछि भक्तपुर अस्पतालमा बल्ल आईसीयू

भक्तपुर, ५ असोज । नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा आएको छ । जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आईसीयू सेवा अति आवश्यक पर्दछ । वीर अस्पताललाई नेपालको पहिलो सरकारी अस्पतालका रुपमा लिइन्छ । यही अस्पतालबाट आधुनिक चिकित्सा सेवाको सुरुआतसमेत भएको बताइएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा अस्पताल स्थापना गरेका थिए । इतिहासकारका अनुसार यसैलाई पछि ‘भक्तपुर अस्पताल’ नामाकरण गरिएको हो ।

cura insider

केही वर्षौँदेखि प्रयोगमा नआएका आईसीयूका भेन्टिलेटर उपकरणसहित वागमती प्रदेश सरकारले पठाएको सामग्रीबाट आईसीयू सेवा पहिलो पटक सञ्चालनमा ल्याएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए । २०२८ सालमा ५० शैय्याको जिल्लास्तरीय अस्पतालको रुपमा सेवा विस्तार हुँदै २०६१ भदौमा २५ शैय्याको प्रसूतिगृह थप गरी ७५ श्यया भएको थियो । अस्पतालमा गत बिहीबारदेखि आईसीयू सेवा सुरु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

सरकारले सो अस्पताललाई कोरोना हव अस्पतालसमेत तोकेको छ । यसपछि पाँचवटा भेन्टिलेटरसहित ६ शैय्याको आईसीयू र कोरोना संक्रमित राख्ने १६ शैय्याको आइसोलेुन एवम् १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सुरु गरेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘आईसीयू अत्यावश्यक भइसकेको थियो, मैले यहाँको मेसुको कार्यभार सम्हालेपछि अस्पतालको सिंगो समूह मिलेर आईसीयूको ब्लक निर्माणदेखि अन्य सबै तयारी पूरा गरौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्रीले जनशक्तिको व्यवस्थापन गर्न निर्देशन दिएपछि आईसीयू सेवा सञ्चालनका लागि अस्पतालले करारमा नयाँ जनशक्ति थप गरेर सेवा सञ्चालनमा ल्यायौ ।’

आईसीयूको लागि थप एक शैय्या र दुईवटा भेन्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ । अस्पतालले कोभिडको महामारीको बीचमा पनि सबै सेवा जारी राखेको छ । अहिले कोरोनाका पाँचजना आईसीयुमा, १३ जना लक्षण देखिएका र १० जना आइसोलेसनमा उपचार भइरहेको छ । त्यसैगरी विद्युत प्राधिकरण खरिपाटीस्थित आइसोलेसनमा ९७ जनाको उपचार भइरहेको उनले जानकारी दिइन् ।

अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाई फर्किनु नपरोस् भनेर अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा, आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । सर्जरी, बालरोग, दन्तरोग, छाला रोग, मानसिक रोग, फिजियोथेरापी, आँखा तथा चश्मा जाँच, स्वास्थ्य बिमा सेवा, अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिरहेको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याई औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

त्यसैगरी लैंगिक हिंसामा परेका महिला तथा पुरुषका लागि अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएर कुनै पनि हिंसामा परेकालाई स्वास्थ्य सेवा, सुरक्षा एवं कानूनी सेवासमेत दिने व्यवस्था गरेको मेसु डा. गौतमले जानकारी दिइन् । त्यसैगरी पाठेघरको निःशुल्क अप्रेसन तथा निःशुल्क प्रसूति सेवासमेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले पेइङ क्लिनिक सेवा पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको ओपिडि सेवा सकिएपछि दिउँसो ३ बजेदेखि र बिहान ९ बजे अगाडि पेइङ सेवा सञ्चालनमा ल्याएको हो । साथै विभिन्न जटिल शल्यक्रिया, खुट्टा, छाती, पेटलगायत विशेष अंगहरुको भिडियो एक्सरे सेवा र प्रत्येक दिन बुधबार ३ बजेपछि अपांग बच्चा नजन्मियोस् भनेर गरिने भिडियो एक्सरे अर्थात् एनोमली स्क्यान र दुरबिन प्रविधिबाट अप्रेसन सेवासमेत सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पतालमा कुनै पनि सेवा बन्द नरहेको जानकारी दिँदै उनले भनिन्, ‘अन्त अस्पतालले सेवा दिँदैनन् भनेर कतिपय बिरामी सिधै यहीँ आउँछन्, कतिपय बिरामी निजी अस्पतालले भर्ना लिन मानेन भनेर विभिन्न अस्पताल चाहारेर यहाँ आइपुग्छन्, यो सरकारी अस्पताल हो, यहाँ आएका बिरामीलाई फर्काउनु भएन, त्यसैले सबै सेवा सञ्चानल गरेको छौ, केही सेवा थप गरेका छौ ।’

कोभिड ब्लकसमेत सञ्चालनमा आएपछि अन्य रोगका आकस्मिक सर्जरी गर्नु परेमा बिरामी राख्ने ठाउँको अभावको भएको उनको भनाइ छ । अस्पतालको एउटै कम्पाउण्ड भएपनि कोभिड र नन कोभिडका बिरामीको उपचारमा फरक ब्लक भएकाले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको दाबी गर्दै उनले ठाउँको अभावले निकै समस्या भने पारेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् भक्तपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष नवराज गेलालले अस्पताललाई प्रदेश अस्पताल नभई केन्द्रीय अस्पतालको रुपमा सरकारले विकास गर्नुपर्ने सुझाव दिए । उनले भने, ‘भक्तपुर अस्पतालको म अध्यक्ष हुँदा २०७२ सालमा एक करोड ५० लाखको बजेटमा आईसीयू स्थापना गर्न सामान ल्याएँ तर कर्मचारीले आईसीयू चलाउन दिएनन्, मैले आईसीयू चलाउन ठाउँ, पाँच शैय्याको बेड, तीन भेन्टिलेटर तयार पारेर अपांगमैत्री भर्‍याङ र अन्य ओपीडी सेवा थप गराएँ, अस्पतालको स्वरुप नै फेरियो । चाहे गर्न सकिन्छ भन्ने नमूना अहिल बन्यो ।’ रासस

jackson ribon