Rumpum Advertisement

विराटनगर अर्थात् काठमाण्डु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगर अर्थात् काठमाण्डु

श्रीशीशा राई

सोलुखुम्बु जिल्ला
दुधकोशी गाउँपालिका
वडा नं. ६, जुबिङमा फुलेको छ
आङदिकी शेर्पाको जवानी
त्यै जवानीको मूल्य
म्यासेन्जरमा सोधिरहने फेक आइडी
विराटनगरमा छ ।

पाखनबेतको आकर्षक भाउ
विराटनगरमै छ
सीटीईभीटी परीक्षाको प्रवेशपत्र,
चौरीखर्क खानेपानी योजनाको किस्ता,
ल्याण्डरोभरले किचेको करङको एक्सरे,
मुख्यमन्त्रीको चाउरिँदै गएको मुस्कान पनि
विराटनगरमै छ ।

सर्न त सरेकै हो सिंहदरबार विराटनगरतिर
थानकोट तरेकै हो केन्द्रियताले
फेरिएकै हो काठमाण्डुमा एकात्मकताको रुप
उत्रिएर अहिले त्यसैको प्रतिलिपि
पोको परेको छ काठमाण्डु विराटनगरको मजेत्रोमा
यसरी नै प…र सरेका छन्
आङदिकीका रहर, सपना र भविष्य ।

के जान्छ र विराटनगरको ?
काठमाण्डुको स्मार्टकार्ड लाइसेन्समा
रातो शासकीय हस्ताक्षर ठोकिदिन्छ
हरिसिद्धी इँटाको धुँवा
आरती स्ट्रिप्सको चिम्नीबाट फालिदिन्छ
पहिले सिंहदरबार धाउनुपथ्र्यो भद्रकाली कुल्चेर
अहिले धाउनुपर्छ विराटदरबार संघीयता कुल्चेर
फिस्स हाँस्थ्यो पृथ्वीनारायणको शालिक
सिंहदरबार अघिल्तिर
अहिले हाँस्छ त्यसरी नै महेन्द्रको शालिक
नयाँ नेपाल पछिल्तिर ।

आङदिकीलाई लागेको थियो–
छोरालाई गर्भमै छोडेर
१० वर्ष अरबमा हराएको प्रेमबहादुर राई
या म्यासेन्जरमा जवानी किन्ने फेक आइडी जस्तै
टुप्लुक्क आइपुग्नेछ आँगनमा कुनै दिन सिंहदरबार
तर न आयो जवानीको मनपर्ने उत्तर
न भयो सिंहदरबारको कुनै आभाष ।

सीटीईभीटीको परीक्षा दिन जाँदा थाहा भयो–
सिंहदरबार त जोगवनीको तातो फलैँचामा बसेर
सुरक्षाकर्मीले पंखा हम्काइरहेको रहेछ
गर्मीमा यति क्रेजी भइसकेछ कि
भेडेटार, संखाम या टेम्केमैयुङका प्राकृतिक एसीहरु
ट्याब्लेटको फोल्डरबाटै डिलिट भएछन् ।

जसरी मुटुमा छुरा घोप्दा
चल्मलाएन काठमाण्डु
त्यसरी नै अचानोमा घाँटी तेर्सिदा पनि
शान्त छ विराटनगर
काठमाण्डु जस्तै छ विराटनगर ।

त्यही नजिकै फाप्लु हुँदाहुँदै
प्लसटुको ट्रान्सक्रिप्ट लिन विराटनगर नै झर्नुपर्दा
आँशु यदि खस्यो भने
आङदिकीको हत्केलामै खस्ने हो
तर खडेरीमा
विराटनगरको आकाशबाट बर्सिएको पानी
आङदिकीको गाग्रीमै पर्छ भन्न कसरी सकिन्छ
जब–
सिमानाको समथर साँघुरो छेउमा
चौरीको पुच्छरझैँ डल्लो परेर
सोलुखुम्बु उक्लिनै चाहँदैन विराटनगर ।