birat ribon

भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रम ओली

Neuro
भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रम ओली

काठमाडौ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतीपूर्ण रहे पनि भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् ।

संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक सर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

cura insider

भ्रष्टाचारविरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दावी छ । उनले भने, ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु- भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’

‘भ्रष्टाचारविरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राजश्व अनुसन्धान विभागले एक हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।’

प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताए । ओलीले कोरोनाका कारण कतिपय वाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताए । ‘कोरोना नभएको भए भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने थिए,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्यवृद्धि नियन्त्रणमा नै रहेको बताए । बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर भइरहेको उल्लेख गर्दै उनले इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधिलगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी नदिइएको बताए ।

वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बैंकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताका कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे बताए ।

लकडाउनको अवधिमा पनि विकास निर्माणलाई निरन्तरता दिइएको उनले बताए । लकडाउन अवधिमा १७८ किमी सडक कालोपत्रे भएको, ८९ मोटरेवल पुल निर्माण भएको र भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको उनले बताए ।

कोरोना महामारीलाई अवसरका रुपमा लिँदै सरकारले उल्लेखनीय काम गरेको ओलीले बताए । उनले भने, ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् ।’

कोभिड–१९ को संक्रमण नेपालमा देखिनुपूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्थाबीचमा आकाश–जमिनको फरक रहेको ओलीले बताए । ‘पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो,’ ओलीले भने, ‘हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ।’

सुरुको समयमा प्रतिपरीक्षण लागत ८ हजार ५ सय थियो । हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा दुई हजार रुपैंयाँमा परीक्षण हुन थालेको ओलीले बताए । ओलीका अनुसार सिंगो जनसंख्याको कम्तिमा दुई प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रति दश लाखमा पीसीआर परीक्षण ३० हजार नाघेको ओलीले बताए ।

उनले अहिलेको अवस्थामा एक हजार पाँच सय ५१ बाट आईसीयू बेडको क्षमता दुई हजार ६०० पुर्‍याइएको र ७७० भेन्टिलेटरबाट अहिले ९०० पु¥याइएको बताए । कोरोना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एक सयजना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको उल्लेख गर्दै ओलीले २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टिमहरु तयारी अवस्थामा राखिएको बताए ।

jackson ribon