Rumpum Advertisement

कोइम्यानले फर्काए कौटिन्होको मुहारमा मुस्कान

Neuro Revised Adv
Koshi Dashain ad
कोइम्यानले फर्काए कौटिन्होको मुहारमा मुस्कान

विराटनगर, २ असोज । एक वर्ष अगाडि ब्राजिलियन मिडफिल्डर फिलिप्पे कौटिन्हो निराश हुँदै लोनमा जर्मन क्लब बायर्न म्युनिख गएका थिए । २०१८ मा लिभरपुलबाट क्याप नोउ आएका कौटिन्हो २०१९ मै लोनमा बुन्डेसलिगा क्लब गएका थिए ।

२८ वर्षीय कौटिन्होलाई बार्सिलोनाले ८.५० मिलियन युरोमा जर्मन पठाएको थियो । एक वर्ष लोनमा जर्मन बसेका उनले बायर्नको जर्सीमा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपको उपाधि जिते ।

स्थायी खेलाडी बनाउन बायर्न असहमत भएपछि उनी पुनः क्याप नोउ फर्किए । हाल उनले रोनाल्ड कोइम्यान नेतृत्त्वको बार्सिलोनाबाट मौका पाइरहेका छन् । र, गोल र असिस्ट पनि गरिरहेका छन् ।

प्रि–सिजनअन्तर्गत दुवै मैत्रीपूर्ण खेलमा मौका पाएका उनले दुवै खेलमा गोल गरे । जिम्नास्टिकविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न सफल कौटिन्होले जिरोनासँगको खेलमा एक गोल र एक असिस्ट गरे ।

कोइम्यान नेतृत्त्वको टोलीमा उनी आत्मविश्वासी र खुशी देखिएका छन् । उनको आत्मबल र विश्वसनीयता देखेर कोइम्यान उनलाई मौका दिइरहेका छन् । पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको नेतृत्त्वमा छँदा उनले कमै खेलमा मौका पाएका थिए ।

ब्राजिलियन स्टार कौटिन्हो प्रतिभावान रहेको कोइम्यान बताउँछन् । ‘उनी अहिले उच्च लयमा देखिन्छन्’, जिरोनासँगको खेलपछि बोल्दै कोइम्यानले भने, ‘उनको प्रशिक्षण पनि राम्रो छ र खेल पनि उस्तै राम्रो छ । उनीसँग महान क्षमता छ । हामीले उनलाई समर्थन गर्नु आवश्यक छ ।’