Rumpum Advertisement

विराटनगरमा राष्ट्रिय झण्डाको आकार थरीथरी : अनुगमन गर्ने निकायबाटै कार्यविधिको उल्लङ्घन

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा राष्ट्रिय झण्डाको आकार थरीथरी : अनुगमन गर्ने निकायबाटै कार्यविधिको उल्लङ्घन

शिवहाङ राई

विराटनगर, २ असोज । प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका मन्त्रालयदेखि रक्सी बेच्ने होटलसम्म राष्ट्रिय झण्डा राखिएको छ । तर आकार भने मनलाग्दी छ । झण्डा प्रयोगका लागि सरकारले ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि’ जारी गरिएको छ । तर प्रदेश नं १ अन्तर्गतका मन्त्रालय, प्रादेशिक कार्यालय र अन्य संवैधानिक निकायमा राखिएका राष्ट्रिय झण्डा कार्यविधिअनुसार छैनन् । कार्यालयमा फरक–फरक आकारका झण्डा राखिएको छ ।

नेपाल सरकारद्वारा २०६९ साल जेठ २२ गते प्रकाशित गरिएको नेपाल राजपत्रको भाग ३ मा स्पष्टरुपमा राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि उल्लेख गरिएको छ । ‘मूल कार्यविधि’ भनिने कार्यविधि नेपालको अन्तरिम संविधान २०६३ अनुसार भएकाले यसलाई २०७६ साल भदौ २ गते पहिलो पटक संशोधन गरी प्रकाशित गरिएको थियो ।

पहिलो संशोधित कार्यविधिमा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने व्यक्ति र कार्यालय थप गरिएका छन् । संशोधित कार्यविधिमा राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र प्रदेशअन्तर्गतका कार्यालय समावेश हुने गरी संशोधित गरिएको छ ।

कार्यविधिमा स्पष्टरुपमा अति विशिष्ट र विशिष्ट व्यक्तिका निवास, मन्त्रालय, कार्यालय, कार्यकक्ष र सवारीसाधनमा प्रयोग गरिने झण्डाको आकार खुलाइएको भए पनि प्रदेश नं १ मा रहेका अधिकांश मन्त्रालय र कार्यालयमा राखिएका झण्डा कार्यविधिअनुसार छैनन् । मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका कार्यविधिले तोकेअनुसार झण्डा राखिएको छ । तर अन्य मन्त्रालय र कार्यालयमा कतै झण्डाको आकार र झण्डामा राख्न प्रयोग भएको डण्ठीको आकार मिलेको छैन । अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय मोरङमा नै कार्यविधिअनुसारको झण्डा छैन ।

के छ कार्यविधिमा ?

कार्यविधिमा नेपालको संविधान २०७२ को धारा ८ को उपधारा (१) मा उल्ल्लेख भएअनुसार सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भनिएको छ ।

राष्ट्रिय झण्डाको प्रयोग गर्ने विधिमा कार्यालय भवनमा स्थायीरुपमा राखिने झण्डा न्यूनतम ५ मिटर ८० सेन्टिमिटर (१९ फिट) अग्लो पोलमा बाँधेर फहराइनु पर्ने र झण्डाको आकार ८x६ फिट हुनुपर्ने भनिएको छ । कार्यविधिमा स्पष्ट रुपमा झण्डाको आकार र फहराइनु पर्ने तरिका उल्लेख गरिएको भए पनि सोहीअनुरुप कार्यालयहरुले झण्डा राखेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय मोरङमा राखेको राष्ट्रिय झण्डा कार्यविधिभन्दा आकारमा आधा सानो छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले झण्डा अग्लो पोलमा राखेको भए पनि भवन अगाडि निकै सानो आकारको झण्डा फहराएको छ । अन्य मन्त्रालय एवम् कार्यालयहरुले अग्लो पोल र ठूलो आकारको झण्डा भवनअघि फहराएको भए पनि प्रयोग गरिएको झण्डाको आकारमा एकरुपता छैन ।

कुनै झण्डाको आकार कार्यविधिअनुसारकै भए पनि फहराउन प्रयोग गरिएको पोलको उचाइ कार्यविधिअनुसारको छैन । केही कार्यालयको पोल कार्यविधिअनुसारको रहे तापनि झण्डाको आकार भने कार्यविधिसँग मेल खाँदैन ।

प्रदेशसभा कार्यालय परिसरभित्र फहराइएको झण्डाको रङ उडेको छ । कार्यविधिको परिच्छेद–२ को दफा ७ (५) मा राष्ट्रिय झण्डा च्यातिएमा, बिग्रेमा, रङ उडेमा वा अन्य कारणले अशोभनीय देखिएमा कार्यविधिको अधिनमा रहेर जुनसुकै समयमा झण्डा फेर्न सकिने उल्लेख गरिएको छ ।

सोही दफामा सरकारी कार्यालय भवनभित्र र बाहिर तथा आवास भवनहरुमा प्रयोग गरिने राष्ट्रिय झण्डा हरेक नयाँ वर्ष र वडा दशैंको अवसरमा अनिवार्यरुपमा फेरिनु पर्ने व्यवस्था गरिएको भए पनि प्रदेशसभा कार्यालय र प्रदेश सरकारले यसमा चासो दिएको देखिँदैन ।

प्रदेश नं १ मुख्य न्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय झण्डाको प्रयोग नै गरेको छैन । जिल्ला प्रशासन कार्यालय मोरङको भवनसँगै टाँसिएको भवनमा कार्यालय रहेता पनि मुख्य न्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय झण्डा प्रयोग नगरेको हो ।

विराटनगरस्थित उच्च अदालतले पनि हालैमात्र नयाँ झण्डा प्रयोगमा ल्याएको छ । झण्डा फहराइएको भए पनि कार्यविधिअनुसार छैन ।

चोक, शैक्षिक संस्था, निजी निवास र होटलमा राष्ट्रिय झण्डा

कार्यविधिले सडक, चोक, शैक्षिक संस्था र होटलमा राष्ट्रिय झण्डा राख्ने विषयमा स्पष्ट व्यवस्था नगरेको भए पनि प्रदेश नं १ का विभिन्न चोक, शैक्षिक संस्था, र होटलहरुमा राष्ट्रिय झण्डाको प्रयोग भएको देखिन्छ । तर, राखिएको झण्डामा न त राख्ने संस्थाले ध्यान दिएको छ न त सम्बन्धित निकायले नै ।

प्रदेश राजधानी विराटनगरस्थित महेन्द्र चोकमा एकै स्थान दुई झण्डा फहराइएका छन् । एउटा झण्डा अग्लो पोलमा फहराइएको छ भने अर्को सानो आकारको झण्डा पोल नजिकै रहेको पूर्वराजाको भत्काइएको शालिकमाथि राखिएको छ । चोकमा फहराइएको सानो आकारको झण्डा च्यातिएको छ । झण्डाको रङ उडेर अशोभनीय देखिँदासमेत सम्बन्धित निकायको नजर यसमा परेको छैन ।

यसबाहेक विभिन्न शैक्षिक संस्था र होटलले समेत राष्ट्रिय झण्डाको प्रयोग गरेका छन् । शैक्षिक संस्था र होटलले प्रयोग गर्न पाउने वा नपाउने, प्रयोग गर्ने पाउने भए कुन आकारको पाउने भन्नेबारे कार्यविधिमा स्पष्ट खुलाइएको छैन । झण्डाको आकारमा एकरुपता छैन । प्रयोग गरिएको झण्डा च्यातिँदा, रङ उड्दासमेत शैक्षिक संस्था र होटलले परिवर्तन नगरेको पाइएको छ ।

कार्यविधिको दफा ९ मा राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा झण्डा फहराउन पाउने व्यवस्था गरिएको छ । कार्यविधिको दफा ४ (१) (ग) मा नेपाली नागरिकले व्यक्तिगतरुपमा प्रयोग गर्न पाउने झण्डाको आकार ४x३ फिट भनिएको भए पनि नागरिकले प्रयोग गर्ने झण्डामा समेत एकरुपता पाइँदैन ।

अनुगमन गर्ने जिम्मेवारी कसको ?

कार्यविधिले राष्ट्रिय झण्डा र राष्ट्रिय गान कार्यविधिअनुरुप भए–नभएको भनी नियमित अनुगमन गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । संशोधित कार्यविधिले अनुगमन गर्ने क्रममा कार्यविधिअनुसार राष्ट्रिय झण्डाको प्रयोग नगरिएको पाइएमा मर्यादाअनुसार प्रयोग गर्न लगाउने वा प्रयोगमा रोक लगाउन पाउने अधिकारसमेत दिएको छ ।

कार्यविधिले पूर्ण अधिकार दिएको भए तापनि सम्बन्धित निकायले राष्ट्रिय झण्डाको प्रयोगको विषयमा खासै चासो र ध्यान दिएको पाइँदैन । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का जिल्ला प्रशासन कार्यालयको झण्डा कार्यविधिअनुसार नभएकाले फेर्न लागिएको बताए । ‘हाम्रो कार्यालयमा कार्यविधिअनुसार रहेनछ, भर्खरै थाहा पायौं ।’ उनले भने, ‘हामी पनि भर्खरै आएका छौं, कार्यविधिअनुसार बनाउनका लागि अर्डर गरिसकेको छ ।’ होटल र सार्वजनिक स्थानमा झण्डा प्रयोग गर्नेबारे स्पष्ट उल्लेख नभएको उनले बताए ।