birat ribon

मेस्सीले सिजनको पहिलो ‘एल क्लासिको’ गुमाउन सक्ने

Neuro
मेस्सीले सिजनको पहिलो ‘एल क्लासिको’ गुमाउन सक्ने

विराटनगर, २ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सिजनको पहिलो ‘एल क्लासिको’ गुमाउने सम्भावना रहेकाे छ । अर्जेन्टिनी कप्तान मेस्सीले राष्ट्रिय ड्युटीका कारण रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्त ‘एल क्लासिको’ गुमाउने सम्भावना रहेको हो ।

२०२०–२१ को पहिलो एल क्लासिको २५ अक्टोबरमा हुँदैछ । बार्सिलोनाको मैदान क्याप नोउमा हुने यस खेल मेस्सीले गुमाउनसक्ने देखिएको छ । एल क्लासिकोभन्दा अगाडि मेस्सीले अर्जेन्टिनाबाट विश्वकप छनौटका दुई खेल खेल्दैछन् ।

cura insider

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा हुने कतार विश्वकपको छनौट खेलअन्तर्गत
८ अक्टोबारमा इक्वाडरसँग र १३ अक्टोबरमा बोलिभियासँग खेल्दैछ । समूह चरणका यी दुई खेलपश्चात मेस्सीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले एल क्लासिको मेस्सीविहीन हुनसक्ने छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार कोरोना महामारीका कारण एक देशबाट अर्को देश भ्रमण गरेपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । यसैले मेस्सीले सिजनको पहिलो एल क्लासिको गुमाउने सम्भावना छ ।

त्यसबाहेक राष्ट्रिय ड्युटीका कारण मेस्सीले ला लिगाका केही खेल गुमाउन सक्नेछन् । उनले गेटाफे र अलाभेससँगको खेलमा पनि गुमाउने सम्भावना रहेको बताइएको छ ।

यद्यपि, एल क्लासिको आउन एक महिना बाँकी भएका कारण त्यतिबेलासम्म अवस्था अर्कै पनि हुनसक्छ ।

अर्जेन्टिनी फुटबल संघ (एएफए)ले मेस्सीले विश्वकप छनौटका खेल खेल्न पाउने दाबी गरेको छ । मेस्सीमाथि सन् २०१९ मा लागेको एक खेलको प्रतिबन्धको अवधि सकिएका कारण उनले विश्वकप छनोटका खेल खेल्न पाउने एएफएका अध्यक्ष क्लाउडियो तापियाले दाबी गरेका हुन् ।

जुलाइ २०१९ मा कोपा अमेरिकाका क्रममा मेस्सीमाथि एक खेलको प्रतिबन्ध लागेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा विपक्षी टोलीका खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो ।

त्यसपछि प्रतियोगितामा ‘सेटिङ’ गरिएको भन्दै आयोजकलाई आरोप लगाएका उनलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । मेस्सीमाथिको एक खेलको प्रतिबन्ध प्रतिस्पर्धात्मक खेलका लागि मात्र भएका कारण उनले गत वर्ष ब्राजिल र उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

यता, एएफएले भने मेस्सीको प्रतिबन्धको अवधि एक वर्षसम्म मात्र रहने भएकाले अब उनले आगामी महिनाको खेल खेल्न पाउने दाबी गरेको हो ।

jackson ribon