birat ribon

सुरु भयो मलमास

Neuro
सुरु भयो मलमास

विराटनगर, २ असोज । एक महिना लामो मलमास आज (शुक्रबार)बाट सुरु भएको छ । यसलाई अधिकमास अर्थात पुरुषोत्तम मास पनि भनिन्छ ।

आगामी कात्तिक २ गतेसम्म चल्ने मलमासमा कुनै पनि शुभकर्म र यात्राको थालनी गर्न नहुने धार्मिक विश्वास छ । मलमासलाई अशुद्धमासका रुपमा पनि लिइन्छ ।

cura insider

यसकै कारण सोह्रश्राद्ध केही समयअघि र नेपालीहरुको महान चाड दशैं र तिहार पछि सर्न पुग्यो । सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया दुई वर्ष, आठ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास मनाउने गरिन्छ ।

हिन्दु पञ्चाङ्ग अनुसार सौरमासको एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार ३५४ दिन, २२ घडी, १ पला र २३ विपलाको एक वर्ष हुने गर्छ । हरेक वर्ष सूर्य तथा चन्द्रमासको बीचमा हुने १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तरले महिना छोएपछि एक महिनालाई अशुद्ध मास मानेर गणना नगरी सौरमाससँग समायोजन गर्ने गरिन्छ ।

मलमासमा निश्चित र नित्य कर्मबाहेक लगन र साइत जुराएर गर्ने सबै प्रकारका कामहरु गर्न प्रतिबन्ध लगाइएको धर्मशास्त्रका ज्ञाताहरुको भनाइ छ । नयाँ भौतिक संरचना एवं नयाँ कामको थालनी गर्न रोक लगाइएको छ । तर पहिलेदेखि नै नियमित गरिरहेको कामलाई भने निरन्तरता दिँदा कुनै बाधा नपर्ने बताइएको छ । अशुद्ध भएको र गणनामा नै नहुने भएकोले यो एक महिना कुनै पनि मुहूर्त जुराएर गर्ने काम गर्न शास्त्रले निषेध गरेको पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले बताए ।

वैदिक पञ्चाङ्ग अनुसार पहिले असार र कात्तिक महिनामा मात्रै अधिकमास मनाउने चलन थियो । आधुनिक पञ्चाङ्ग अनुसार अधिकमास मनाएको दुई वर्ष, आठ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्ने गर्छ ।

सबै जसो महिनामालाई भगवानहरुले आ–आफ्नो अनुकूल मिलाएर स्वीकार्न थाले पनि अन्तिममा अशुद्ध भनेर छाडिएको यो महिनालाई स्वीकार गरेनन् । यसै पनि अशुद्ध भनेर छाडिएको यो महिनाले भगवानहरूसँग विलौना गरेपछि पुरुषोत्तम अर्थात् भगवान विष्णुले सो महिनाको नाम नै आफ्नो नामबाट राखेर सो महिनालाई आफूले स्वीकार्ने बताए भन्ने धार्मिक मत रहेको छ ।

त्यसैले यो महिनामा अरू शुभकर्म गर्न निषेध गरिएकोले भगवान विष्णुलाई खुसी बनाउने गरी स्तुति गर्न भने शुभ हुने मान्यता छ । मलमासमा विशेष गरेर भगवान विष्णुको पूजाआराधना गर्ने गरिन्छ ।

मलमासमा नित्यकर्म, नियमित गरिँदै आएको ब्रत, बिहानी सत्संग, भगवान विष्णुको आरती, न्वारन, पास्नी, दैनिक उपभोग्य सामग्री खरिद र खानपानमा प्रतिबन्ध छैन । यसैबीच काम्य कर्म, साइत र मुर्हूत जुराएर गरिने कर्म, गृह प्रवेश, नयाँ संरचना निर्माणको थालनी, नयाँ तीर्थ एवं धार्मिक यात्रा, नयाँ व्यवसायीको थालनी, नयाँ ब्रतको सुरुवात आदिमा भने मलमासमा प्रतिबन्ध लगाइएको छ ।

jackson ribon