छ महिनापछि विराटनगरबाट काठमाडौंका लागि छुटे पाँचवटा सवारी

विराटनगर, १ असोज । लामो दुरीका सवारी खुलेको पहिलो दिन बिहीबार विराटनगरबाट पाँचवटा सार्वजनिक सवारी काठमाडौंका लागि छुटेका छन् । बिहीबार विराटनगरबाट चारवटा माइक्रो र एउटा बस काठमाडौंका लागि छुटेका हुन् ।

कोरोना महामारी त्रासका कारण ११ चैतबाट सार्वजनिक यातायात ठप्प थियो । सरकारले सार्वजनिक यातायात खुला गरेको पहिलो दिन विराटनगरबाट पाँचवटा सार्वजनिक सवारी काठमाडौंका लागि छुटेका थिए ।

बिहीबार विश्वकर्मा पूजा भएकाले थोरै सवारीसाधन सञ्चालन भए पनि शुक्रबारबाट भने पूर्णरुपमा सञ्चालनमा आउने पूर्व नेपाल यातायात व्यवसायी प्रालिका कोषाध्यक्ष राजु धमलाले बताए । विश्वकर्मा पूजाकै कारण धेरै व्यवसायीले सवारीसाधन नचलाएको उनको भनाइ छ । छोटो एवम् मध्यम दुरीका लागि सीमित सवारीसाधन सञ्चालन भएको बताए ।

विराटनगर आएका सवारीलाई बसपार्कमा सेनिटाइज गरिन्छ । सवारीसाधनलाई निसंक्रमण गर्दा यात्रु, यातायात मजदुर र यातायात सेवा सबै सुरक्षित हुने धमलाको भनाइ छ ।

नेपाल यातायात मजदुर संघ मोरङका सहसचिव भुपाल केसीका अनुसार सुरक्षा विधि अपनाएर सार्वजनिक सवारी सञ्चालनमा ल्याइएको हो । विराटनगरबाट छुटेका सवारीमा चालक, सहचालकलाई फेसमास्क, सेनिटाइजरजस्ता सुरक्षाका आधारभूत सामग्री उपलब्ध गराएको छ । काठमाडौ यात्राका लागि बिहीबार ४० जना यात्रुले सेवा लिएका छन् ।

१८ जना यात्रु आट्ने क्षमताको माइक्रो बसमा सामाजिक दुरी पालना गर्दै पाँचदेखि आठ जनासम्म मात्र यात्रु राखिएको छ ।

काठमाडौं जानका लागि बसपार्क पुगेका यात्रुहरु स्वयम्ले मास्क तथा सेनिटाइर साथमै लिएर आएका थिए । शुक्रबारबाट पूर्णरुपमा यातायात सञ्चालन हुने भएपछि पश्चिमतर्फ, बुटवल, धनगढी, नेपालगञ्ज, काठमाडौं, वीरगञ्जलगायतका लागि धमाधम बुकिङ भइरहेको यातायात व्यवसायीले बताए । विराटनगर बसपार्कबाट पहाडी क्षेत्रसँगै छोटो र लामो दुरीका लागि करिब तीन सय ५० वटा सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

Loading...