Rumpum

Rumpum Advertisement

सुनसरी-मोरङ करिडोरमा १५ हजारको रोजगारी गुम्यो, १४ हजारलाई आधा समय काम

सुनसरी-मोरङ करिडोरमा १५ हजारको रोजगारी गुम्यो, १४ हजारलाई आधा समय काम

विराटनगर, १ असोज । कोरोना महामारीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ हजार मजदुर बेरोजगार भएका छन् । छ महिना उद्योग पूर्ण क्षमतामा नआउँदा १५ हजार बेरोजगार भएका हुन् ।

करिडोरमा ५० हजार मजदुर कार्यरत छन् । तीमध्ये ३० प्रतिशत अर्थात् १० हजार बेरोजगार भएका हुन् । १४ हजारले आंशिक रोजगारी पाएका छन् । करिडोरमा २१ हजार मजदुरले भने पूर्णकालीन रोजगारी पाइरहेका छन् । करिडोरका साना–ठूला सबैखाले ५०० उद्योग छन् ।

श्रम विज्ञ डा. मोहनचन्द्र घिमिरेका अनुसार ठूला उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेका छन् । ती उद्योगले तीन सिफ्टबाट दुुई सिफ्टमा झरेका छन् । साना तथा मझौला उद्योगको उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरु पूर्ण बेरोजगार बनेका हुन् ।

बेरोजगारीको संख्यालाई बढ्न नदिन र कामविहीन भएकालाई काममा फर्काउन सरकारले उनीहरुले काम गरिरहेको उद्योगलाई सुविधा दिएर पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । बेरोजगार भएका अदक्ष कामदारलाई सरकारले नै सीप सिकाएर सानो पेशा व्यवसाय गर्न सहजकीरण गर्न सक्ने उनले बताए ।

सुनसरी–मोरङ औद्योगिक करिडोरभित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले तीन सिफ्ट चलिरहेका दुुबै उद्योगको एक सिफ्ट बन्द गरिएको बताए । एक सिफ्ट बन्द हुँदा ३० प्रतिशत मजदुर कामविहीन बनेका छन् । केहीलाई १५ दिन काम र १५ दिन आराम दिएर उद्योगले काम लगाइरहेको छ ।

अरिहन्त मल्टिफाइवर्समा चार हजार पाँच सय मजदुर र रघुपति जुटमिलमा दुई हजार पाँच सय मजदुर कार्यरत छन् । तर कोभिड १९ को महामारीको कारण ३० प्रतिशतले अर्थात् दुई हजार एक सयले रोजगारी गुमाइसकेका छन् । जसमा भारतीय मजदुर पनि छन् ।

इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्समा चार हजार मजदुर कार्यरत छन् । कोरोना महामारीका कारण सो उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेको छ । उनका अनुसार स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ ।

एक हजार मजदुुर कार्यरत मोरङको बुुढीगंगा गाउँपालिकाको बाबा जुट मिलले पनि तीन सिफ्टबाट उद्योगलाई दुुई सिफ्टमा झारेको छ । उद्योगको उत्पादन घटेपछि त्यसमा कार्यरत तीन सय मजदुर पनि बेरोजगार बन्न पुुगेको उद्योग सञ्चालक रमेश राठीले जानकारी दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगहरुको क्षमता घट्नु र बेरोजगारी बढ्दा समस्या उत्पन्न हुने बताए । उनका अनुसार उत्पादन घट्दा राज्यलाई उद्योगहरुले बुझाउँदै आएको कर संकलनमा ह्रास आउने छ भने समाजमा बेरोजगारी बढ्दा अशान्ति र अपराधसमेत बढ्न सक्ने सम्भावना रहन्छ ।

सरकारले आन्तरिक बेरोजगार र वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगारहरुलाई समयमा नै व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए । घिमिरेले कच्चापदार्थ, श्रमिक व्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको उनले बताए ।

करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहेका छन् । सञ्चालित उद्योगहरुले ६० देखि ७० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।