Rumpum

Rumpum Advertisement

एम्बाप्पे टोलीमा फर्किने अपेक्षा

एम्बाप्पे टोलीमा फर्किने अपेक्षा

पेरिस, १ असोज । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेलले स्ट्राइकर किलियन एम्बाप्पे टोलीमा फर्किने अपेक्षा गरेका छन् ।

केही समयअघि कोरोना संक्रमण पुष्टि भएका एम्बाप्पे हाल ठीक भएको बताउँदै टुचेलले आइतबार हुने नाइससँगको खेलबाट उनी मैदान फर्किने अपेक्षा गरे ।

फ्रान्सेली स्टार एम्बाप्पेलाई दुई साताअघि यूईएफए नेशन्स लिगका दाैरान कोरोना पुष्टि भएको थियो । स्वीडेनसँगको खेलमा निर्णायक गोल गरेका उनले क्रोएशियाविरुद्ध भने खेल्न पाएनन् ।

तर, अब भने उनी व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् । ‘एम्बाप्पेले अहिले राम्रो महशूस गरिरहेका छन् । उनमा कुनै लक्षण देखिएको छैन’, मेट्जसँगको खेलपछि बोल्दै टुचेलले भने, ‘उनलाई कोरोना पुष्टि भए पनि लक्षण देखिएको थिएन । उनी अहिले ठीक छन् । उनले केही व्यक्तिगत अभ्यास पनि गरे ।’

‘उनले आउँदो नाइससँगको खेल खेल्ने कि नखेल्ने भन्ने विषयमा शनिबारसम्ममा हामी निर्णय गर्नेछौं । डाक्टरसँग र एम्बाप्पेसँग कुरा गरेर निर्णय लिन्छौं । मलाई लाग्छ उनी अर्को खेलबाट मैदान फर्किन्छन् । मेरो कामना यहीँ छ,’ उनले भने ।

एम्बाप्पले पीएसजीका सुरुआती तीन खेल गुमाएका थिए । पीएसजीले तीनमध्ये एक खेलमा मात्र जित निकालेको छ ।