खुसी छैनन् भगवान बनाउनेहरू

मोहन ढकाल

विराटनगर, १ असोज । कुनै समस्या हुन साथ मान्छे भगवान (देवता) पुकार्ने गर्छन् । पीडामा भगवानको शरणमा पुग्ने परम्परा छ । भगवानप्रति सबैको आस्था छ । चाडपर्वमा भगवानलाई नपुज्ने कमै होलान् । भगवानले साथ दिन्छन् र दुःख हरण गरेर लैजान्छन्भ न्ने जनविश्वास पनि छ । तर तिनै भगवानका प्रतिमासँग रातदिन नजिक हुनेहरु भने यतिबेला तनावमा छन् ।

मूर्ति बनाउँदै भगवानका प्रतीमा उतार्नेहरुको पीडा दर्दनाक छ । भगवानले दुःख हरण गरेर लैजानेभन्दा पनि अहोरात्र भगवानको मूर्ति बनाउन समय खर्चिनेहरुको सुख कोरोनाले हरण गरिदिएको छ ।

मूर्ति बनाउने कलामा रमाएर भगवानको प्रतीमा बेच्दै जीविकोपार्जनको माध्यम बनाएर परिवार धान्दै आएकाहरुलाई यतिबेला गुजारा चलाउन सकस परिरहेको छ ।

दिनेश महतो भगवानकाे प्रतिमा बनाउने व्यक्ति हुन । ४० वर्षयता उनी रातदिन भगवानकाे प्रतिमासँग खेलिरहेका हुन्छन् । बनाएको प्रतिमा बेचेरै उनको परिवारको जीविका वर्षौदेखि चल्दै आइरहेको छ ।

विश्वकर्मा पूजा, विजया दशमी, सरस्वती पूजालगायतका चाडपर्वमा उनीसँग भगवानका प्रतीमा किन्नेहरुको कमी हुँदैन थियो । तर अहिले उनले बनाएका भगवान बिक्री नभएर बेबारिसे जस्तै बनेका छन् ।

यो पेसा पुण्यको काम भएको सकमल दास बताउँछन् । उनी यसलाई संस्कारका रुपमा लिन्छन् । आस्था र विश्वासको धरोहर भगवानको मूर्ति बनाउने कामलाई पुण्य ठान्दै आएको उनी जस्ता धेरैको अवस्था कोरोना महामारीका कारण समस्यामा छ ।

विश्वकर्मा बाबाको मूर्ति किन्न आउनेहरु यस पटक त्यति आएनन् । आफूले बनाएको भगवान अर्थात् मूर्ति सबैलाई मनपर्ने भए पनि यस वर्ष कोरोनाले भगवानप्रति आस्था राख्नेहरुलाई परपर बनाइदिएको उनले बताए ।

काठ, माटो र पराललाई भगवानको स्वरुपमा ढाल्न सजिलो छैन । धेरै मेहनत र समय खर्च गर्नुपर्छ । आफ्ने सीप खर्च गर्दै बनाएका मूर्ति लिन ग्राहाक नआउँदा उनी निराश छन् ।

कोरोना महामारीका कारण यो वर्षको विश्वकर्मा पूजा उत्साहजनक नभएकाे दिनेशले बताए । व्यापार खस्किएका कारण उनी दुःखी छन् ।

महतोका अनुसार गत वर्ष विभिन्न सिजनमा ३–४ लाख रुपैयाँभन्दा बढीको मूर्ति बिक्री भएको थियो । लकडाउनका कारण मूर्ति बेच्न पाएनन् । ‘पोहोर साल विश्वकर्मा पूजाका लागि एक सयभन्दा बढी मूर्ति बिक्री गरेँ,’ उनले भने ‘यसपटक २० वटा मात्रै बिक्री भयो ।’

दिनेशका छोरा सञ्जीत महतो पनि मूर्र्ति व्यवसायमा नै छन् । सञ्जीतका अनुसार यो वर्ष मूर्तिको माग नै भएन । ‘गत वर्ष विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमीलगायका पर्वहरूमा महिना दिनअगाडि नै अर्डर हुन्थ्यो,’ उनले भने, ‘लकडाउनका कारण थोरै मूर्ति बनाइयो ।’ उनका अनुसार छ महिनामा ५० वटा मात्रै मूर्ति बिक्री भएको छ ।

माँ मन्सा मूर्ति कला केन्द्रका सकमल दासले ५० वर्षयता मूर्ति बनाउने काम गरिरहेका छन् । ‘लकडाउनको अवधिमा बिक्री नै हुन सकेन ।’ उनले भने, ‘कृष्ण जन्माष्टमीमा जम्मा सातवटा मूर्ति बेचेँ, विश्वकर्मा पूजामा ३० वटा मात्रै ।’

दासले लकडाउनको अवधिमा लगभग ४० हजारको मात्रै मूर्ति बेचेको बताए । विराटनगरको बरगाछीमा भाडामा जग्गा लिएर मूर्ति व्यवसाय गर्दै आएका उनी पछिल्लो समय भाडा तिर्नसमेत समस्या भएको बताउँछन् । ‘महिनाको १० हजार भाडा तिर्नु पर्छ,’ उनले भने, ‘आम्दानी छैन, कहाँबाट ल्याएर तिर्ने ।’

कच्चापदार्थको अभाव

मूर्ति बनाउन प्रयोग हुने लगभग ५० प्रतिशत कच्चापदार्थ भारतबाट आयत हुन्छ । तर लामो लकडाउनका कारण कच्चापदार्थ ल्याउन सकेका छैनन् ।

स्टकमा भएको कच्चापदार्थ पनि सकिन लागेको छ । नाका शील भएका कारण ल्याउन नसकिएको उनले बताए । कच्चापदार्थ अभाव भएका कारण लकडाउन खुलेपछि माग बढ्यो भने पनि मूर्ति बनाउन सक्ने अवस्था नभएको उनीहरू बताउँछन् ।

Loading...