Rumpum

Rumpum Advertisement

स्वारेजले बार्सिलोनामै बस्छु भनेमा मौका पाउँछन् : कोइम्यान

स्वारेजले बार्सिलोनामै बस्छु भनेमा मौका पाउँछन् : कोइम्यान

बार्सिलोना, १ असोज । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले फरवार्ड लुइस स्वारेजको भविष्यका विषयमा बोलेका छन् । पछिल्लो समय क्याप नोउ छोड्ने चर्चामा रहेका उरुग्वेका स्ट्राइकर स्वारेजको विषयमा कोइम्यानले बोलेका हुन् ।

यसअघि कोइम्यानले स्वारेज आफ्नो प्रोजेक्टमा नरहेको उल्लेख गर्दै उनलाई विकल्प खोज्न भनेका थिए । त्यसपछि विकल्पका रूपमा इटालियन क्लब युभेन्टस जाने चर्चामा रहेका स्वारेजले टोलीबाट मौका पाउन सक्ने कोइम्यानको भनाइ छ ।

‘मैले बिहान स्वारेजसँग कुरा गरेको थिएँ’, जिरोनासँगको मैत्रीपूर्ण खेलपछि कोइम्यानले भने, ‘हामी उनलाई टोलीमा राख्ने वा नराख्ने विषयमा हेरिरहेका छौं । तर, बार्सिलोनाले खेलाडीको सम्झौताको सम्मान गर्छ, पहिलो दिनदेखि नै मैले भन्दै आइरहेको छु ।’

‘यदि, यहीँ बसेमा स्वारेज टोलीको अर्को हिस्सा बन्नेछन् । उनी हाम्रा लागि अर्को खेलाडी बन्नेछन् र उनले मौका पाउनेछन्’, उनले थपे ।

जिरोनाविरुद्धको खेलमा स्वारेजले मौका पाएका थिएनन् । त्यसअघि जिम्यास्टिकसँगको खेलमा पनि स्वारेज टोलीमा थिएनन् ।