Rumpum

Rumpum Advertisement

हराएको फोनमा बाँदरको सेल्फी र भिडियो

हराएको फोनमा बाँदरको सेल्फी र भिडियो

विराटनगर १ असोज । बाँदरले खिचेका सेल्फी र भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

मलेशियाका २० वर्षीय जाक्रिद्ज रोद्जीले बाँदरले फोन खान खोजेजस्तो देखिने केही सेल्फी र भिडियो ट्विटरमा हालेपछि भाइरल भएका हुन् । दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा उनले आफ्नो हराएको फोन भेट्दा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियो फेला परेको बताएका छन् ।

भिडियोमा बाँदरले फोनको क्यामरामा ट्वाल्ल परेर हेरेको, फोन खान खोजेको र हरिया पातको पृष्ठभूमिमा काग कराएको सुनिन्छ । फोनमा बाँदरका साथै रूख र पातका धेरै तस्बिरहरू पनि थिए । शनिवार बिहान उठेपछि फोन हराएको थाहा पाएका रोद्जीले आइतवार दिउँसोसम्म फोन भेटाएका थिएनन् ।

उनका पिताले घरबाहिर एउटा बाँदर देखेको बताएपछि उनले आफ्नो नम्बरमा फोन गर्दा घरपछाडि जंगलमा घण्टी बजेको सुनिएको थियो । फोन खोज्दै जाँदा हिलो लागेको फोन पामको रूखमुनि पातहरूले छोपिएको अवस्थामा भेटिएको थियो । उनका एक आफन्तले फोनमा चोरको तस्बिर होला भनेर ठट्टा गरेपछि फोन खोलेर हेर्दा बाँदरका तस्बिरहरू भेटिएको थियो ।