प्रदेशसभा विराटनगरमा रहने, अढाई वर्षपछि भवन शिलान्यास

विराटनगर, १ असोज । १ नम्बर प्रदेशसभाको भवन शिलान्यास गरिएको छ । प्रदेशसभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश सभाको भवन शिलान्यास गरिएको हो ।

जिल्ला समन्वय समितिको भवनमा अढाई वर्ष सञ्चालन भएको प्रदेशसभा भवन जिससकै खाली रहेको क्षेत्रमा निर्माण सुरु भएको हो ।

प्रदेशसभाको भवन शिलान्यास भएसँगै विराटनगरबाट प्रदेशसभाको भवन सर्ने सम्भावना टरेको छ । प्रदेश १ को राजधानी तोक्दा राजधानी विराटनगर भए पनि वृहत विराट क्षेत्रलाई घोषणा गरिएको थियो । तर विराटनगर बाहिर राजधानीको संरचना निर्माण गर्ने चर्चा थियो ।

प्रदेश सरकारले विनियोजन गरेको पाँच करोड रुपैयाँ बजेटमध्ये दुई करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ ठेक्का लागेपछि बिहीबार प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले शिलान्यास गरे । उनले प्रदेशसभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अब अन्त्य भएको बताए ।

प्रदेश सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको यो पहिलो भौतिक संरचना हो ।

प्रदेश सरकारले आफ्नो लगानीमा पहिलो पटक भौतिक संरचना निर्माण थालनी गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

जग्गा अभावमा प्रदेश सरकारको प्रशासनिक भवन तथा पूर्वाधार निर्माण गर्न नसकिएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले बताए ।

भवन निर्माणका लागि धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले ठेक्का पाएको छ ।

Loading...