कोरोना महामारीको मारमा मूर्तिको कारोबार

आशिका लम्साल

विराटनगर, १ असोज । विराटनगर बरगाछीस्थित जय माँकाली मूर्तिकला केन्द्रबाट अघिल्ला वर्ष दुई सय थान विश्वकर्मा बाबाको मूर्ति बिक्री भएका थिए । तर यसपालि ५० वटा मूर्ति बनाएको, त्यो पनि बिक्री भएका छैनन् ।

मूर्ति केन्द्रका सञ्चालक तथा मूर्तिकार नितेश महतोका अनुसार यो वर्ष कोरोना महामारी नियन्त्रणका लागि भएको लामो लकडाउनले आर्थिक गतिविधि प्रभावित भएसँगै चाडपर्वमा बिक्री हुने मूर्ति व्यावसाय पनि प्रत्यक्ष मारमा परेको छ ।

योपालि बिक्री होला कि भन्ने आसमा बनाएका थोरै ५० वटा मूर्तिहरु बिक्रीका लागि तयारी गरिएका थिए । तर बुधबारसम्म दुई दर्जन जतिमात्र बिक्री भए । ‘बिक्री हुँदैन भनेर थोरै मूर्ति बनाएका थियौं तर कोरोनाले गर्दा यसपालि त्यो पनि बिक्री भएन,’ महतोले भने ।

उनका अनुसार लामो लकडाउनले गर्दा सार्वजनिक यातायातहरु अझै पूर्णरुपमा सञ्चालन भएका छैनन् । जसले गर्दा विश्वकर्मा पूजा पनि यो वर्ष प्रभावित भएको छ । मोटर ग्यारेजहरु प्राय अझै बन्द छन् । खुलेकाहरुलाई पनि गुजारा चलाउन धौधौ छ ।

यात्रुबाहक बसहरु आआफ्ना ग्यारेज र घरघरमै थन्किएका छन् । सिटी रिक्सा र अटो टेम्पो भर्खर चल्न थाले पनि यात्रु नहुँदा उनीहरुको आम्दानी नै छैन । व्यापार व्यावसाय नहुँदा चन्दा संकलन गरेर सार्वजनिक स्थानमा धुमधामसँग आयोजना गरिने विश्वकर्मा पूजा समारोह पनि कतै आयोजना हुने अवस्था छैन ।

मूर्तिकार तथा जय माँकाली मूर्ति कला केन्द्रका प्रमुख सञ्चालक तथा मूर्तिकार दिनेशचन्द महतोका अनुसार अघिल्ला वर्षहरुमा सिटी र अटो रिक्साहरुले मात्र ५० थानभन्दा बढी म्ूर्ति किनेर लाग्ने गर्दथे । विश्वकर्मा पूजाको १५ दिनअघि नै मूर्तिको अर्डर बुक भइसक्थ्यो । तर कोरोना महामारीले गर्दा यो वर्ष मूर्तिको व्यापार पूरै खस्किएको छ । र्मूिर्तकार दिनेशचन्दले खिन्न हुँदै भने, ‘भन्नेबित्तिकै मूर्ति तयार गर्न सकिँदैन । यसैले जोखिम मोलेरै भए पनि बिक्री हुने आशामा ५० वटा जति सानाठूला मूर्ति बनाएका थियौं, नबिकेपछि ऋणमा डुब्यौं ।’

मूर्ति बनाएर बिक्री गर्नु सजिलो काम हैन । आवश्यक माटो, बाँस, रङदेखि श्रृंगारका सामानहरु सबै खरिद गर्नुपर्छ । चाडबाडका बेला हतारमा एक–दुईजनाले मात्र धेरै मूर्ति बनाउन भ्याइँदैन । ज्यालामा सहायक मूर्तिकारहरु पनि प्रयोग गर्नुपर्छ । मूर्ति सजावटका लागि चाहिने श्रृंगार सामग्री सबै भारतबाट चर्को १३ प्रतिशत भन्सार शुल्क तिरेर ल्याउनु पर्छ । घाम लागेन भने मूर्ति सुकाउन महँगो ग्यास सिलिन्डरको आगो प्रयोग गर्नुपर्छ । यसैले एउटा मूर्ति बनाउँदा दुईदेखि पाँच सयसम्म मुस्किलले नाफा हुन्छ । यसैले मूर्ति बिक्री भएन भने साँवासमेत डुब्ने जोखिम धेरै हुन्छ ।

हाल माँकाली मूर्ति कलाकेन्द्रमा एक हजारदेखि पाँच हजारसम्मका मूर्ति बनाएर बिक्री गर्न राखिएका छन् । कोरोनाले गर्दा यो वर्ष दुर्गा र काली पूजामा पनि मूर्ति बनाउने अर्डर एकदमै कम आउने मूर्तिकार नितेश बताउँछन् ।

Loading...