Rumpum

Rumpum Advertisement

केही हप्ताभित्र अमेरिकामा खोप तयार हुने ट्रम्पको दाबी

केही हप्ताभित्र अमेरिकामा खोप तयार हुने ट्रम्पको दाबी

विराटनगर १ असोज । केही हप्ताभित्र अमेरिकामा कोरोना भाइरविरुद्धको खोप उपलब्ध हुने दाबी गरिएको छ ।

भाइरसविरुद्धको प्रभावकारी खोप केही साताभित्रै आमरूपमा वितरणका लागि तयार हुने राष्ट्रपति डोनल्ड ट्रम्पले दाबी गरेका हुन् । तर, सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले सन् २०२१ को जूनदेखि सेप्टेम्बरको बीचसम्ममा आमनागरिकका लागि उपलब्ध हुनसक्ने बताएका छन् ।

कोरोना भाइरसविरुद्धको खोप सुरूवाती चरणमा यो वर्षको नोभेम्बर वा डिसेम्बर महिनाको बीचमा उपलब्ध हुन सक्ने भए पनि त्यो समयमा सीमित मात्रामा मात्रै आपूर्ति हुन सक्ने र प्राथमिकता निर्धारण गर्नुपर्ने रेडफिल्डले बताउँछन् । तर, ट्रम्पले फेरि पनि सीडीसीका निर्देशकले गल्तीले अथवा द्विविधामा परेर खोपको विषयमा गलत खबर बताएको हुनसक्ने दाबी गरेका छन् ।

ट्रम्पका अनुसार तत्काल ठूलो संख्यामा मानिसहरूलाई खोप उपलब्ध गराउन र अरू मुलुकलाई पनि सहयोग गर्न अमेरिका तयार रहेको छ । ट्रम्पमाथि चुनावी फाइदाका लागि खोपको विषयलाई प्रयोग गरिरहेको विभिन्न आरोपसमेत लगाइएको छ ।