प्लाज्मा थेरापी गरिएकी संक्रमित महिलाको मृत्यु

विराटनगर, १ असोज । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधीबाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ५ कि ५७ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई १९ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकी महिलालाई भेन्टिलेटरको सहायतामा आईसीयूमा राखेर उपचार थालिएको थियो । तर पनि स्वास्थ्यमा सुधार नआएपछि २१ गते प्लाज्मा थेरापी विधीबाट उपचार गरियो । उनी प्रदेशमै प्लाज्मा थेरापीबाट उपचार गराउने पहिलो संक्रमित हुन् ।

कोरोना पराजित गर्दै घर फर्र्किएका धनगढी उपमहानगरपालिका १४ का एक युवाले महिलालाई प्लाज्मा दिएका थिए । मृतकमा मधुमेह, थाइराइड लगायतका स्वास्थ्य सम्बन्धी पुरोना समस्या थिए । संक्रमित महिलाको प्लाज्मा थेरापी गरिएको १० दिन वित्न नपाउँदै मृत्यु भएको हो ।

Loading...