भारतका प्रधानमन्त्री मोदी ७० वर्षमा प्रवेश, नेपालका प्रधानमन्त्री ओलीले दिए शुभकामना

विराटनगर, १ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (बिहीबार)बाट ७० वर्षमा प्रवेश गरेका छन् ।

उनलाई नेपालका प्राधानमन्त्री केपी शर्मा ओलीले ७० औं जन्मदिनको शुभकामना दिएका छन् । शुभकामना दिँदै ओलीले दुई छिमेकी मित्रराष्ट्रसँग नेपालले सम्बन्ध मजवुत बनाउने र मिलेर काम गर्ने पनि उल्लेख गरेका छन् । मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।

समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

हिन्दुस्तान टाइम्सका अनुसार मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान सुरु गरेको छ । यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरणलगायतका कार्यक्रम गरिने भएको छ ।

भाजपाले मोदीको जन्मदिन यस्तै सेवामुलक कार्यक्रम गरेर एक हप्तासम्म मनाउन जिल्ला जिल्ला समितिहरुलाई परिपत्र गरिसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

Loading...