सडकमा छ महिनापछि देखिन थाले सार्वजनिक सवारी साधन

विराटनगर, १ असोज । स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै झन्डै छ महिनापछि सडकमा सार्वजनिक सवारी साधन चलेको देख्न पाइएको छ ।

नियमको पालना गरेर कोरोना संक्रमण फैलन नदिन सवाधानी अपनाउँदै लामो तथा मध्यम दूरीका सवारी साधन बिहीबार बिहानैबाट सडकमा गुड्न थालेका हुन् । आज विश्वकर्मा पूजा भएका कारण सवारी साधन सडकमा बाक्लो संख्यामा भने देखिएका छैनन् । यातायात व्यवसायी महासंघले भोलि (शुक्रबार) बाट भने पूर्ण रुपमा सवारी साधन सञ्चालनमा आउने जनाएको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गर्दै सरकारले गत चैत ११ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । लामो समय नचली थन्किएका गाडीहरु मर्मत सम्भारपछि व्यवसायीले चलाउन थालेका छन् ।

यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले बिहीबारदेखि बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको थियो । बुधबार विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको हो ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस सिल्डको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।

सरकारले अशोज १ गतेदेखि यातायात सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेपछि लामो समयदेखि थन्किएका गाडीले यात्रुलाई सेवा दिन थालेका हुन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

Loading...