Rumpum

Rumpum Advertisement

दराजमा थन्कियो विज्ञान नीति

दराजमा थन्कियो विज्ञान नीति

विराटनगर, १ असोज । राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन हुन नसक्दा सो नीति दराजमा थन्किएर दस्तावेज भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भने, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।” नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद् गठनको व्यवस्था छ ।

शिक्षा मन्त्रीको अध्यक्षतामा रहने सो परिषद् मात्र गठन भएको छ । मन्त्री पोखरेलले नीतिगत स्पष्टता होस् भनेर विभिन्न अध्ययन कमिटीका साथै नीतिका आधारमा अगाडि बढ्न विज्ञान तथा प्रविधि सचिवको नेतृत्वमा रणनीतिक योजना तयार गरिरहेको जानकारी दिए ।

विज्ञान प्रविधिको विकास, नवप्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य नीतिले लिएको छ ।

यस वर्षको राष्ट्रिय विज्ञान दिवस बिहीबार ‘स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ मनाइँदैछ । यस अवसरमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले तयार गरेको वेबसाइटको मन्त्री पोखरेलले बुधबार शुभारम्भ गरे ।

अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई गत २०७० सालबाट राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाइन थालिएको हो । कोभिड–१९ का कारण यसपटक भर्चुअल रूपमा यो दिवस मनाइँदैछ । आजको गोरखापत्र दैनिकमा समाचार छ