मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

बार्सिलोना, १ असोज । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३–१ गोलले हराएको हो ।

जोहान क्रुफ स्टेडियममा भएको खेलमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने फिलिप्पे कौटिन्होले एक गोल गरे । जिरोनाका सामुअल साइजले एक गोल फर्काए ।

बार्सिलोनाले कौटिन्होको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको २१औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा कौटिन्होकै पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

खेलको ४६औं मिनेटमा साइजले गोल गर्दै जिरोनालाई खेलमा फर्काउने प्रयास गरे । तर, ५१औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गर्दै बार्सिलोनालाई ३–१ गोलको जित दिलाए ।

यससँगै बार्सिलोना लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित निकालेको छ । यसअघि जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा पनि बार्सिलोनाले ३–१ गोलको जित निकालेको थियो ।

बार्सिलोनाले ला लिगाको तयारीका लागि यो खेल खेलेको हो । बार्सिलोनाले सेप्टेम्बर २७ मा भिल्लारियलसँग खेल्दै नयाँ सिजनको ला लिगा थाल्दैछ ।

अघिल्लो सिजन दोस्रो स्थानमा रहँदै ला लिगाको अन्त्य गरेको बार्सिलोनाले ला लिगा थाल्नुअघि इल्चेसँग जोन ग्याम्पर ट्रफीको उपाधिका लागि खेल्नेछ । यो खेल भने शनिबार राति ११ः४५ बजे हुनेछ ।

Loading...