पीएसजीको पहिलो जित

पेरिस, १ असोज । फ्रेन्च लिग वानमा डिफेन्डिङ च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जित दर्ता गरेको छ । बुधबार राति आफ्नो तेस्रो खेल खेलेको पीएसजीले नवप्रवेशी क्लब मेट्जमाथि १–० गोलको कठिन जित निकालेको हो ।

पीएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जुलियन ड्राक्जलरले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको इन्ज्युरी समयमा ड्राक्जलरले गोल गर्दै पीएसजीलाई जित दिलाए ।

त्यसअघि खेलको ६५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित बनेको थियो । पीएसजीका एबडौ डियल्लोले मेट्जका खेलाडी नियानेको जर्सी तानेका कारण उनलाई रेफ्रीले पहेँलो कार्डसहित रातो कार्ड दिएर मैदानबाहिर पठाएका थिए ।

यससँगै पीएसजीले पहिलो जित निकालेको छ । यसअघि उसले दुवै खेलमा पराजय ब्यहोरेको थियो । पहिलो खेलमा लेन्ससँग र दोस्रो खेलमा मार्सेलीसँग पराजित पीएसजीले मेट्जविरुद्ध जित निकाल्दै तीन अंक जोडेको छ । पीएसजी ३ अंकसहित तालिकाको १५औं स्थानमा छ ।

Loading...