शरीरमा यूरिक एसिडको स्तर नियन्त्रण गर्न जान्नै पर्ने कुराहरू

विराटनगर, ३१ भदौ । शरीरमा प्यूरिन नामको प्रोटीनको मात्रा बढ्दा युरिक एसिडको स्तर पनि बढ्दै जान्छ ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार मांसाहारी खानाको सेवन गर्ने व्यक्तिहरूमा उच्च युरिक एसिडको समस्या हुने खतरा बढी हुन्छ ।

महिलामा २.४ देखि ६ मिलिग्राम / डीएल र पुरुषमा ३.४ देखि ७ मिलिग्राम / डीएल युरिक एसिडलाई सामान्य मानिन्छ । यूरिक एसिडको स्तर ७ मिलीग्राम / डीएलभन्दा माथि जाँदा शरीरमा क्रिस्टल बन्न सुरु हुन्छ । जसले मृगौलामा पत्थरी र गाउट जस्ता समस्या निम्त्याउँछ ।

रगतमा यूरिक एसिडको अधिकता मात्रालाई हाइपर्यूरिसेमिया भनिन्छ । यो अवस्थालाई सजिलैसँग औषधिद्वारा व्यवस्थित गरिन्छ, तर केही स्वस्थ जीवनशैली परिवर्तनहरू गर्दा रगतमा यूरिक एसिडको स्तर कायम राख्न सहयोग पुर्‍याउन सक्छन् ।

यूरिक एसिडको समस्याको भएमा सबैभन्दा पहिला प्यूरिन युक्त खानाको मात्रा सीमित गर्नु उत्तम हुन्छ । मासु, माछा, काउली, हरियो मटर र च्याउ जस्ता खानामा प्यूरिनको मात्रा धेरै हुन्छ । यी खानाहरूको सेवन गर्दा ध्यान दिनुपर्छ । गुलियो पेय पदार्थ र रक्सीको सेवनलाई त्याग्नु नै यूरिक एसिडको रोगीलाई उचित हुन्छ ।

फाइबरले शरीरलाई यूरिक एसिडबाट छुट्कारा पाउन, रगतमा चिनी र इन्सुलिनको मात्रा सन्तुलनमा राख्न मद्दत गर्ने हुँदा आहारमा फाइबरयुक्त खानेकुराहरू समावेश गर्नुपर्छ ।

मौसमी फलहरू, तरकारीहरू र सम्पूर्ण अन्नहरूको सेवन बढाउनुपर्छ । शरीरको अधिक तौलले मृगौला र मुटुमा नराम्रो असर पार्नुका साथै रगतमा यूरिक एसिडको स्तरमा वृद्धि गराउन सक्छ । त्यसैले शरीरको तौललाई नियन्त्रणमा राख्नु पर्छ ।

भिटामिन सीको सेवन बढाउँदा रगतमा उच्च युरिक एसिडको समस्या व्यवस्थापन गर्न मद्दत हुन्छ । कागती पानी, भिटामिन सीयुक्त फलहरूको सेवन उच्च युरिक एसिडको रोकथामको लागि उत्कृष्ट विकल्पहरू हुनसक्छन् । साथै, उच्च यूरिक एसिडबाट ग्रस्त व्यक्तिहरूले शरिरलाई हाइड्रेट राख्नुपर्छ । 

Loading...