‘बार्सिलोनाले मेस्सीलाई धोका दियो’

बार्सिलोना, ३१ भदौ । स्पेनिस क्लब रायो भाल्लेकानोका पूर्वप्रशिक्षक पाको जेमेजले बार्सिलोनाका कप्तान लियोनल मेस्सीमाथि धोका भएको बताएका छन् । स्पेन छोड्ने मनसाय गरेका मेस्सीलाई बार्सिलोनाले छोड्न नदिएर धोका र बेवास्ता गरेको जेमेजको आरोप छ ।

अर्जेन्टिनी स्टार मेस्सीले गत २५ अगस्टमा क्लब छोड्ने घोषणा गरेका थिए । तर, मेस्सीसँगको सम्झौता आगामी सिजनमा मात्र सकिने भएका कारण उनलाई अन्य क्लबले किन्न ७०० मिलियन युरो तिर्नुपर्ने बार्सिलोनाले बताएको थियो ।

बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेको जनाएपछि मेस्सीले क्याप नोउ छोड्न पाएनन् । जसकारण क्लब छोड्ने घोषणा गरेको ११ दिनपछि मेस्सी क्पाप नोउमै बस्ने बाध्य भए ।

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीको क्लब छोड्ने इच्छा पूरा नगरेर बार्सिलोनाले उनलाई धोका दिएको जेमेजको आरोप छ । ‘यो ठूलो खबर हो कि मेस्सी स्पेनिस फुटबलमै रहन्छन् र बार्सिलोनाले पनि त्यहीँ सोच्नेछ । तर, म खुशी छैन किनकि मेस्सीले यहाँ सहज महशूस गरेका छैनन्,’ उनले एक युटुब च्यानलसँग कुरा गर्दै भने ।

‘मेस्सी क्याप नोउमै बस्ने भए किनकि उनलाई बाध्य पारियो । यदि, उनले भनेको कुरा सही हो भने मेस्सीलाई धोका दिइयो र बेवास्ता गरियो । यो राम्रो कुरा होइन । यदि, म बार्सिलोनाको अध्यक्ष भएको भए मेस्सीलाई बार्सिलोना छोड्ने वातावरण मिलाउथेँ,’ उनले भने ।

Loading...