मर्मतपछि तयार भए चैतयता थन्किएका सार्वजनिक बस

मोहन ढकाल
विराटनगर, ३१ भदौ । लकडाउनका कारण लामो समय विराटनगर बसपार्कमा अलपत्र परेका यातायात मजदूर हर्षित भएका छन् ।

सरकारले १ असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपछि यातायत मजदूर हर्षित भएका हुन् ।

सरकारको निर्णयसँगै छ महिनायता थन्किएका सवारी साधन सरसफाइ र मर्मत गरिएको छ । लामो समयदेखि गाडी रोकिएका कारण विभिन्न पाठपूर्जामा समस्या आएको हुनसक्ने सरसफाइ गरेको चालक मित्र भण्डारी बताउँछन् । बिहीबार कुदाउनका लागि सामान्य धोइपखाली गरेर र सामान्य सर्भिस गरेको उनले बताए ।

सञ्चालनका लागि आफ्नो गाडी मर्मत गराइरहेका मोहमद हरिस अन्सारीले केही दिनभित्र गाडी सञ्चालनमा ल्याउने बताउँछन् । उनको गाडी रंगेली–काठमाडौंको लाइनमा गुड्ने गर्छन् । लामो समय गाडी थन्किँदा व्यवसायीले भोगेको घाटामा राज्यले कुनै सहयोग नगरेको उनको गुनासो छ ।

सवारी एकै ठाउँ थन्किएका कारण बिग्रिएकाले मर्मतमा ठूलो खर्च आउने व्यवसायी गोपाल लिम्बू बताउँँछन् । लामो समय थन्किँदा गाडीको टायर काम नलाग्ने भएको, ब्याट्री बसेको, इन्जिन नचल्ने समस्या आएको उनले बताए । प्रत्येक गाडी मर्मतमा दुई लाख बढी खर्च हुने उनले बताए ।

फाट्टफट्ट गाडी मात्र सञ्चालन हुनसक्ने अवस्था रहेको यातायात सञ्चालक नारायण काफ्लेले बताए । अझै पनि गाडी मर्मत र कागजपत्र मिलानको काम नसकिएकोले केही समय लाग्ने उनले बताए ।

लकडाउनदेखि बसपार्कमा नै रोकिएका यातायात मजदूर टंक अघिकारी अब नियमित काम गर्न पाउनेमा विश्वस्त छन् । उनले लामो समय बसपार्कमा नै बिताएका छन् ।

अर्जुन लिम्बू पहाडी क्षेत्रमा कुद्ने गाडीका सहचालक हुन् । लकडाउनका कारण पाचँथर घर भएका लिम्बू पनि बसपार्कमा नै रोकिएका थिए । यातायात सञ्चालन हुने भएपछि हर्षित हुँदै भएका उनले भने, ‘अब भने दैनिकीमा सहज हुन्छ ।’

गाडी सञ्चालन गर्नुपूर्व चालक र सहचालकलाई कोरोनाबाट कसरी बच्ने भन्नेसम्बन्धी प्रशिक्षण दिने नेपाल यातायात व्यवसायी संघका पूर्वकोषाध्यक्ष राजु धमलाले बताए ।

Loading...