नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

विराटनगर, ३१ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पछिल्लो समय तीन देशबाट प्रस्ताव आएको जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार आगामी नोभम्बर र डिसेम्बर महिनामा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको हो ।

उनका अनुसार बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हुन् । जसमध्ये डोमिनिकन रिपब्लिक र मंगोलियाले नेपालमै खेल्नेगरी प्रस्ताव गरेका छन् भने बंगलादेशले नेपाललाई बंगलादेशमै मैत्रीपूर्ण खेल खेल्नेगरी बोलाएको हो ।

उक्त प्रस्तावबारे एन्फाले छलफल अघि बढाएको प्रवक्ता राईको भनाइ छ ।

सरकारले गत चैत महिनादेखि बन्द प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १ भदौदेखि खुला गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो ।

एन्फाले खेलाडीलाई प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टाइनमा राखेको थियो । सो क्रममा खेलाडीहरूको पीसीआर परीक्षणसमेत गरिएको थियो ।

प्रशिक्षण खुला गर्न माग

एन्फाले फुटबल प्रशिक्षण खुला गर्न माग गरेको छ । बुधबार राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर एन्फाका पदाधिकारीहरूले खेलाडीहरू निकै मारमा परेकाले उनीहरूलाई प्रशिक्षणको वातावरण तयार गरिदिन माग गरेका हुन् ।

Loading...