प्रशिक्षण खुला गर्न सरकारसँग एन्फाको माग

विराटनगर, ३१ भदाै । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ ।

एन्फाका पदाधिकारीहरूले बुधबार राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरू निकै मारमा परेकाले उनीहरूलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।

विस्तारै सबै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । खेल क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले प्रशिक्षणको अनुमति दिनुपर्ने उनले उल्लेख गरे ।

प्रारम्भमा सरकारले प्रशिक्षणको बाटो खोली दिनुपर्ने अध्यक्ष शेर्पाको माग थियो ।

खेलाडीलाई अभ्यासमा फर्काउन अब ढिला गर्न नहुने उनको भनाइ थियो । विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि बिना दर्शक प्रतियोगिताहरू सञ्चालन गर्न सकिनेतर्फ एन्फाले सरकारको ध्यानाकर्षण गराएको छ ।

राखेप सदस्य सचिव सिलवालले खेलाडीका लागि प्रशिक्षणको वातावरण बनाउन आफुले सक्दो पहल गर्ने आश्वासन दिए ।

एन्फा प्रवक्ता किरण राईले केही देशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि एन्फालाई प्रस्ताव गरेको जानकारी दिए ।

सरकारले गत चैत महिनादेखि बन्द प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १ भदौदेखि खुला गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो ।

एन्फाले खेलाडीलाई प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई क्वारेन्टिनमा राखेको थियो । सो क्रममा खेलाडीहरुको पीसीआर परीक्षणसमेत गरिएको थियो ।

Loading...