प्रदेश १ मा कोरोना : एक महिनामा थपिए तीन हजार संक्रमित

विराटनगर, ३१ भदौ । प्रदेश १ मा भदौ महिनामा मात्र ३ हजार ९० जना कोरोना संक्रमित थपिएका छन् । एक महिनामा ४६ हजारको पीसीआर जाँच गर्दा ३ हजार ९० जनामा कोरोना संक्रमण देखिएकाे हाे । काेराेना जाँच गरिएका मध्ये ६.७ प्रतिशतकाे पीसीआर रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार एकसय छ । जस मध्ये ५२ जनाको मृत्यु भएको छ । साउन ३२ सम्म प्रदेश १ मा २ हजार १० जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो एक महिनामा तीन हजार ९० जनाकाे रिपाेर्ट पाेजेटिभ आउँदा ३९ जनाको मृत्यु भएको थियाे ।

बुधबारसम्म प्रदेश १ मा संक्रमणकाे अवस्थाकाे जिल्लागत विवरण

पाँच हजार संक्रमित मध्ये बुधबारसम्म २ हजार १९४ जना संक्रमण मुक्त भएका छन् । एक हजार होम आइसोलेसनमा बसेका छन् ।

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा संक्रमित बढी छन् । मन्त्रालयका अनुसार मोरङमा संक्रमितको संख्या २ हजार ३५४ छ । ती मध्ये २९ जनाको मृत्यु भएको छ । सुनसरीमा १ हजार ४०५, झापामा ७६५, उदयपुरमा १२७ जनामा संक्रमण देखिएको छ । सुनसरीमा ८ र झापामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश १ मा ४ बैशाख पहिलो पटक कोरोना संक्रमण देखिएकाे थियाे । ४ बैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ४ भुल्केमा रहेका १२ जनामा संक्रमण देखिएको थियो । ३२ साउनसम्म २ हजार १० जनामा संक्रमण देखिएको थियो । सो अवधीसम्म ६५ हजार ९३३ जनाको पीसीआर जाँच भएको थियो ।

भदौ महिनामा मात्रै ४६ हजार १३० जनाको पीसीआर जाँच गराएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मेची अस्पताल झापामा पीसीआर जाँच हुँदै आएको छ । प्रदेशमा जम्मा १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Loading...