खेल क्षेत्र सुरु हुन आवश्यक

काठमाडाैं, ३१ भदाै । विगत सात महिनादेखि खेलाडीले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३औं दक्षिण एसियाली खेलकुद सागपछि कतिपय खेलाडी प्रतियोगिताविहीन भए भने ओलम्पिकमा छनोट भएका केही खेलाडीको लक्ष्य पातलो हुँदै गएको छ ।

अन्य देशमा सहभागी हुने नेपाली खेलाडीका प्रतिस्पर्धीले मापदण्डभित्र रहेर खेललाई निखारीरहँदा नेपाली खेलाडी भने सरकारले दिने अभ्यास अनुमति कुरिरहेका छन् ।

सरकारले तोकको मापदण्डलाई पालना गर्दै लकडान र निषेधाज्ञाको बीचमा खेलाडी अभ्यासमा फर्किएका थिए । घरको सीमित वातावरणमा समेटिएका खेलाडी कोर्टमा फर्किँदा हौसिएका पनि थिए ।

तर लगत्तै लागेको निषेधाज्ञाले खेलाडीलाई निराश बनायो । अहिले अवस्था केही खुकुलो बन्दै गएको छ । उद्योग, कल कारखानादेखि व्यवसायले मापदण्ड अपनाएर खोल्ने अनुमति पाए पनि भीडभाड हुने गतिविधि सञ्चालनमा आउन सकेका छैनन् । त्योमध्येको खेलकुद क्षेत्र पनि फर्किन सकेको छैन ।

अन्य क्षेत्रमा खुकुलो अपनाएसँगै खेलकुद क्षेत्र फर्काउन पहल भइरहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले बताए । विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार खेल क्षेत्र खुलाउने गरी सम्बन्धित पक्षसँग आफुले नियमित छलफल गरिरहेको उनले बताए ।

बढीमा अबको ७ दिनभित्रमा खेलकुद प्रशिक्षणका गतिविधिहरू पनि सञ्चालन गर्न सरकारले अनुमति दिनेमा उनले विश्वास व्यक्त गरे ।

मापदण्ड पालना गर्दै बी र सी डिभिजनको महिला लिग र राष्ट्रिय लिग सुरु गर्ने विषयमा पनि राखेपमा कुरा आइरहेकाले त्यो विषयमा पनि छलफल चलिरहेको उनले बताए ।

उपत्यकामा तत्काल सम्भव नभएपनि जुन खेलाडी जहाँ छ त्यही ठाउँमा प्रशिक्षणको वातावरण बनाउने र अवस्था सहज हुँदै गएपछि खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराउनुपर्ने विषयमा छलफल चलेको सिलवालले बताए ।

अन्य खेलकुद गतिविधिहरु पनि अवस्थ हेरेर प्रशिक्षण सुरु गर्नुपर्ने र अहिलेको अवस्थामा पदकाधारी खेलाडीहरुलाई तत्काल प्रशिक्षणमा सामेल गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

विश्वका अन्य मुलुकहरूमा आफ्नै होस्टेल भएका कारण पनि खेल गतिविधिहरू सञ्चालनमा समस्या नभएको उनको भनाइ छ । नेपालको सन्दर्भमा घरबाट वा डेरामा बसेर खेल्नुपर्ने अवस्था भएका कारण संक्रमण त्रास रहेको उनले बताए ।

नेपाली खेलाडी अभ्यासमा फर्किन आतुर छन् । शारीरिक हिसाबमा सन्तुलन रहन भए पनि खेलाडीको दिन नियमित प्रशिक्षणको पर्खाइमा बितिरहेको छ । सागमा पाएको सफलतापछि ओलम्पिक लक्ष्य बनाएका खेलाडीको लागि स्वास्थ प्रोटोकल अपनाएर अभ्यासको वातावरण प्रवन्ध गर्नुपर्ने बताउँछन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ ।

सम्बन्धित मन्त्रालय र अन्य सरोकारवाला संघसंस्थाबीच समन्वयन हुन नसक्दा समस्या देखिएको उनले बताए । श्रेष्ठको भनाइजस्तै खेलाडी पनि खेल वातावरणको पर्खाइमा छन् । अन्तर्राष्ट्रियस्तरमा विगतमा नेपाली खेलाडीले हात पारेको सफलतालाई जोगाउन भए पनि खेलाडीमा अभ्यासको टड्कारो छ ।

अभिभावक नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र सम्बन्धित संघले खेलाडीको विषयमा समयमा नै ध्यान दिन जरुरी छ । समयमा नै ध्यान नदिन नेपालको सहभागिता औपचारिकतामा पनि सीमित नहोस् ।

Loading...