नेपालमा पनि खोप परीक्षण गर्न विदेशी खोप निर्माताको चासो

विराटनगर, ३१ भदौ । थुप्रै विदेशी खोप निर्माता कम्पनीहरूले नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप परीक्षणका निम्ति चासो देखाएका छन् ।

स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले रुसले विकास गरेको खोप, चिनियाँ खोप तथा अहिले खोपको दौडमा अगाडि रहेका अन्य खोप निर्माताहरूले नेपालमा पनि कोरोना भाइरसको खोप परीक्षण गर्न चासो देखाएको जानकारी दिएका हुन् ।

तर, खोपको क्लिनिकल परीक्षण गराउन कम्पनीको प्रायोजन तथा स्वास्थ्य सुरक्षा जिम्मेवारीबारे स्पष्ट हुन नसकेको कारंले हालसम्म कुनै खोपलाई परीक्षण गर्न अनुमति नदिइएको डा ज्ञवाली बताउँछन् ।

उनका अनुसार खोपको परीक्षण गर्नुअघि कम्पनीको मापदण्ड स्पष्ट पारिनुपर्ने हुन्छ ।

‘कुनै पनि कम्पनीको खोप परीक्षण गर्न पाउँदा, सो कम्पनीका सबै मापदण्ड तथा प्रोटोकलको पालना गर्नुपर्छ’, उनले भने, ‘त्यसलाई पनि देशको वैज्ञानिकले हेरेर ठीक छ भनेपछि मात्र परीक्षण गर्न पाइन्छ ।’

विदेशमा कुनै खोप प्रमाणित रूपमा प्रभावकारी देखिएपनि नेपालमा खोपको प्रयोग थाल्नुभन्दा अगाडि भौगोलिक अवस्था वा मानिसहरूको आनुवंशिक हिसाबले संक्षिप्त अध्ययन गर्नु राम्रो हुने डा. ज्ञवालीले बताएका छन् ।

परीक्षणका बेला सहभागी हुने मौका भएमा सफल खोपको आपूर्तिबारे देशको दाबी बलियो हुने भन्दै उचित प्रक्रिया अवलम्बन गरेर सहकार्य गर्नुपर्ने कतिपय विज्ञहरूले बताउँदै आएका छन् ।

Loading...