काठमाडौं उपत्यकामा वैकल्पिक कबरस्थानको खोजी

काठमाडाैं, ३१ भदाै । मुस्लिम धर्मावलम्वीहरूका कुनै व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गएमा मृत्यु संस्कार गर्न उपत्यकमा वैकल्पिक कबरस्थान (मुस्लिम धर्मालम्बीको धर्मअनुसार मृत्युपछि शव गाडिने ठाउँ) को खोजी गरिने भएको छ ।

कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका एकजनाको स्वयम्भुमा रहको एक मात्रै कबरस्थानमा शव गाड्न स्थानीयले अवरोध गरेपछि वैकल्पिक ठाउँको खोजी गरिने भएको हो ।

त्यसका लागि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । स्थानीय वडा कार्यालय र स्थानीयहरूले कोभिडबाट मृत्यु भएकाहरूलाई स्वयम्भुमा रहेको कवरस्थानमा गाड्न नदिने बताएपछि ४ दिनसम्म ती मृतकको अन्तिम संस्कार गर्न सकिएको थिएन ।

सामाजिक सद्भाव नबिगार्न उपत्यकामा वैकल्पिक कबरस्थानका लागि ठाउँ खोजिने अध्यक्ष अन्सारीले बताए ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसम्मिलित छलफलले वैकल्पिक स्थान खोजी गर्न समिति गठन गरिएको हो । छलफलका क्रममा भट्टेडाँडा, चम्पादेवी, फर्पिङ, शिवपुरी डाँडा र नागार्जुन डाडाँको अध्ययन गर्न सुझाव आएको उनले बताए ।

बस्तीभन्दा टाढा, स्थानीयलाई अफ्ठ्यारो नपर्ने र गाडी तथा एम्बुलेन्स सहजै जाने ठाउँको अध्ययन गरी कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) लाई सिफारिस गरिने उनले बताए ।

उपत्यकामा वैकल्पिक कबरस्थानका लागि ठाउँ नभेटिए उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आएका तर निधन भएकाहरूलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था सरकारले गर्नुपर्ने उनले बताए ।

Loading...