असोज पहिलो सातादेखि विद्यालय खोल्ने तयारी

खलंगा, ३१ भदाै । जुम्लाको चन्दननाथ नगरपालिकाले विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो ४ असोजदेखि आधारभूत तहको पठनपाठन सरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीले पढ्न पाउनेगरी विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।

“लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ,” उनले भने ।

नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो ४ असोजदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख सेजुवालले बताए ।

विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले बताए ।

“आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो,” उनले भने । रासस

Loading...