मेस्सी सर्वकालीन महान खेलाडी : पियानिक

बार्सिलोना, ३१ भदौ । हालै युभेन्टसबाट बार्सिलोनामा अनुबन्ध भएका बोस्नियन स्टार मिरालेम पियानिकले कप्तान लियोनल मेस्सी सर्वकालीन महान खेलाडी भएको बताएका छन् ।

बार्सिलोनामा सार्वजनिक हुँदैगर्दा पियानिकले अर्जेन्टिनी स्टार मेस्सीसँग खेल्न पाउनु खुशीको विषय भएको बताउँदै उनको प्रसंशा गरेका हुन् ।

बोस्नियन मिडफिल्डर पियानिक यसै समर ट्रान्सफरमा इटालियन क्लब युभेन्टसबाट क्याप नोउ आएका हुन् । बार्सिलोनाले मंगलबार उनलाई सार्वजनिक गर्दै ८ नम्बरको जर्सी दिएको थियो ।

६० मिलियन युरोमा भित्रिएका उनले बार्सिलोनासँग जुन २०२४ सम्मको सम्झौता गरेका छन् । ३० वर्षीय पियानिकले टुरिनबाट ४ वर्ष खेलेका थिए ।

‘मैले विश्वका केही महान खेलाडीहरूसँग काम गरिसकेको छु । तर, मेस्सी सर्वकालीन महान खेलाडी हुनुहुन्छ । उहाँ खुशी देखिनुहुन्छ । उहाँजस्तो एलियनसँग ड्रेसिङ रुम शेयर गर्न पाउँदा खुशी लागेको छ,’ उनले भने ।

यसैगरी पियानिकले मेस्सी बार्सिलोना छोडेर अन्य क्लब जाने चर्चाको विषयमा पनि बोले । ‘उहाँले यस क्लबका लागि धेरै गरिसक्नु भएको छ । म सधैं सोच्छु कि उहाँ अन्यत्र जाँदा पनि आफ्नै शैलीमा जानुहुन्छ । तर, यो उहाँको घर हो, उहाँलाई अर्को जर्सीमा देख्न मुस्किल हुनेछ’, उनले भने ।

Loading...