यातायात खुले पनि उत्साह बढेन

विराटनगर, ३१ भदौ । लामो समयपछि आफ्नो कर्ममा फर्किदा जोसुकै उत्साहित हुन्छन् । तर, छ महिनापछि आफ्नो कर्ममा फर्कन लागेका यातायात व्यवसायी र कर्मचारीमा उत्साह देखिँदैन ।

यातायातका साधन मर्मत गरिरहेका, सरसफाइ गरिरहेका र यात्रुलाई टिकट बेच्न बसेका कसैको मुहारमा चमक छैन । सबैजना अन्योलपूर्ण अवस्थामा रहेका छन् । लामो समयपछि यातायात चलाउँदा खुसी हुनु कि यत्रो समय गाडी नचल्दाको घाटा सम्झेर दुःखी हुने अवस्थामा व्यवसायी छन् । यातायात मजदुर भने गाडी चल्ने हो कि फेरि बन्द हुने हो भन्ने अन्योलमा छन् । असोजको ५÷६ गतेसम्म मात्र गाडी चल्ने सुनेको यातायात मजदुर टंक अधिकारीले अन्योलता व्यक्त गरे । उनी गाडी मजाले चालउन पाउनेमा विश्वस्त देखिएनन् । बन्दको समयमा सहयोगमा जीवन धानेका उनी अझै अन्योलमा छन् ।

अहिलेको महामारीको समयमा गाडी चलाउन ठिक पनि भएको र बेठिक पनि भएको अन्योलता व्यक्त गर्छन् सहचालक भूपाल बस्नेत । स्वास्थ्य मापदण्डअनुसार गाडी चलाउन लागे पनि मनमा डर भने रहेको उनले बताए ।

सञ्चालनका लागि आफ्नो गाडी मर्मत गराइरहेका मोहमद हरिस अन्सारीले केही दिनभित्र गाडी सञ्चालनमा ल्याउने बताए । उनको गाडी रंगेली–काठमाडौको लाइनमा गुड्ने गर्छ । लामो समय गाडी थन्किँदाको व्यवसायीले भोगेको घाटामा राज्यले कुनै वास्ता नगरेको उनले दुखेसो पोखे । सरकारले बनाएको नियमअनुसार नै गाडी चलाउने तयारीमा उनी छन् ।

गाडीहरु लामो समय एकै ठाउँमा थन्किँदा बिग्रेकाले मर्मतमा ठूलो खर्च आउने व्यवसायी गोपाल लिम्बू बताउँछन् । लामो समय थन्किँदा गाडीको टायर काम नलाग्ने भएको, ब्याट्री बसेको, इन्जिन नचल्ने भएको जस्ता समस्या रहेको उनले बताए । प्रत्येक गाडी मर्मतमा दुई लाखभन्दा बढी खर्च हुन आउने उनी बताउँछन् । कसै–कसैले गाडी थोरै भए पनि नियमित गुडाएर कन्डिसनमा राखेको उनले सुनाए । लिम्बूले पनि आफ्नो गाडी असोज १ गते काठमाडौ पठाउने तयारी गरिरहेका छन् । उनका अनुसार अत्यन्तै आवश्यक काम परेकाले मात्र टिकट काटिरहेका छन् । सरकारले तोकेको मापदण्डअनुसार नै गाडी चलाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

फाट्टफुट्ट गाडी मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको यातायात सञ्चालक नारायण काफ्लेले बताउँछन् । अझै पनि गाडी मर्मत र कागजपत्र मिलानको काम नसकिएकाले समय लाग्ने उनले बताए । असोज १ गते एक÷दुईवटाभन्दा बढी चल्न सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । यात्रुहरुले टिकट खासै नखोजेको उनको अनुभव छ । विनायात्रु गाडी चल्ने सम्भावना पनि हुँदैन ।

Loading...